Shittalpati
पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगर सरकारको सेवा प्रभावित


पाल्पा,पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा तानसेन नगरपालिकाको सेवा प्रभावित भएको छ । एक हप्ता अघि लिएको स्वावको समयमै परीक्षण नहुँदा नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवाहरु प्रभावित भएका हुन् । तानसेन १२ का वडाअध्यक्ष र १० का वडा सदस्यहरुमा संक्रमण देखिएपछि नगरपालिकाले भदौ २६ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । नगरपालिकाका जनप्रतिनिधिमा संक्रमण देखिएपछि रिपोर्ट नअउन्जेलसम्मका लागि नगरपालिकाको कार्यालय, कार्यालय मातहत र वडा कार्यालयहरुका सेवाहरु बन्द गरिएको हो । संक्रमण देखिएका जप्रतिनिधिहरु कार्यापालिकाको बैठकमा सहभागी भएपछि नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरुको कन्ट्याक टेसिङ गरिएको थियो । नगरपालिकाले हतार हतार गरी एक हप्ता अघि कन्ट्याक टेसिङमा रहेका ४ सय ४१ जनाको स्वाव संकलन गरी भैरहवा प्रयोगशाला पठाएको थियो । तर यो समाचार तयार पार्दसम्म पिसिआर रिपोर्ट आएको छैन ।

स्वाब संकलन गरी पठाएका जनप्रतिनिधि र कर्मचारीहरु होमक्वारेन्टाइनमै बसेकाले नगरपालिकाबाट हुँदै आएका सम्पूर्ण कामहरु प्रभावित भएका छन् । स्वाबको रिर्पोट अहिलेसम्म नआउँदा नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको नगरप्रमुख अशोक कुमार शाहीले बताए । उनले भने ‘कार्यालय खोल्न त सकिएन नगर भित्र संकलन भएको फोहोर समेत उठाउन नसक्दा अर्को महामारी फैलिने हो कि भन्ने डर भयो ।’ केही स्थानका स्वाबहरु पठाएको दुई तीन दिनै आउने गरे पनि प्रयोगशालाको लापरबाहीले आफुहरुको रिपोर्ट आउन ढिलाई भएको ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए । उनले भने ‘रिपोर्ट आउन ढिलाई हुँदा वडाका सम्पूर्ण कामहरु प्रभावित भएका छन् ।’ भैरहवा प्रयोगशालामा बुझ्दा स्वाब क्यूमा रहेकाले बुटवल पठाइएको भन्ने र बुटवल बुझ्दा भैरहवा प्रयोशालाबाट पर्याप्त प्रक्रिया नपुगेकाले परीक्षण नभएको जवाफ दिने गरेको अध्यक्ष महर्जनले गुनासो गरे । उनले भने‘प्रयोगशालाहरुको लापरवाहीले गर्दा अहिलेसम्म स्वाब परीक्षण हुन नसक्नु दुखद् हो ।’ 

प्रादेशिक प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेन नगरपालिकाले पठाएका स्वाब प्रदेश प्रयोगशालाले शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले तानसेन नगरपालिका सहित पाल्पाका अन्य स्थानबाट निकै ठूलो मात्रामा स्वाबको नमूना आएको हुँदा परीक्षणमा ढिलाई भएको बताएको छ ।
थ्रोट स्वाबको रिपोर्ट समयमै नआउँदा नगर भित्रको फोहोर समेत उठ्न सकेको छैन । सरसफाई गर्ने कर्मचारीहरु समेत होमक्वारेन्टाईनमा बस्नुपर्दा फोहोर उठ्न नसकेको हो । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको समयमै रिपोर्ट नआउँदा अन्यौल भएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक शीरबहादुर रानाले बताए । उनले भने ‘ठाउँ–ठाउँबाट रिपोर्ट के भयो भनेर भन्छन् । अहिलेसम्म आएकै छैन भन्नुबाहेक केही उत्तर छैन ।’ परीक्षणका लागि स्वाबको नमूना संकलन भएका व्यक्ति, घरपरिवार र उसैसँग क्वारेन्टाइनमा रहेका व्यक्तिमा रिपोर्ट नआउँदासम्म त्रास रहने गरेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update