Shittalpati
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो

गुल्मी,  गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उद्देश्यका साथ प्लान्ट खरिद गरिएको थियो । गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो । बुधबार अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डे लगायतसँग प्रत्यक्ष छलफल गरी अक्सिजन प्लान्ट जडानको कार्य तथा सञ्चालनका लागि गरिएको पूर्व तयारीका विषयमा जानकारी लिइएको अभियानका जिल्ला अध्यक्ष श्यामकुमार पाण्डेले जानकारी दिए । गुल्मी अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले प्लान्ट जडान कार्य गरिएपनि जनशक्ति अभाव रहेको बताए । जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गरिरहेको जानकारी दिए । पाण्डेले प्लाण्ट जडानको कार्य सकिएको र इन्जिनियर आएपछि एक दुई दिनमै अक्सिजन उत्पादन गर्न शुरू गरिने जानकारी दिए । सोही अवसरमा अभियानका उपाध्यक्ष ढुण्डीराज पोखरेल तथा सदस्य रामप्रसाद खनालले अस्पतालबाट प्राप्त हुने सेवालाई सहज र सरल बनाउनका लागि आवश्यक सुझाव समेत दिए । प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने अस्पतालले जनाएको छ । जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालन भए यसबाट प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update