Shittalpati
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै

शर्मिला थापा मगर
पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आÞवान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्रुने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँ बाहेक अरु अन्न रोप्ने गरिन्छ । कूल परम्परा अनुसार कसैले अन्य अन्न पनि जाँै सितै रोप्ने गरेका छन् । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रÞमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम भएकाले दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद्हरु बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ ।

बडादसैँको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भिर्‍याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गर्दछन् । दश दिनको दसैँ हुने गरेको छ । तर यस वर्ष भने कोरोना महामारीका कारण दसैँ पर्व उत्साहजन नहुने देखिएको छ । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले पनि घरमै बसेर दसैँ पर्व मनाउन सबैलाई आग्रह समेत गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update