Shittalpati
पत्रकार शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा उठ्ने

पाल्पा, नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । उनले शितलपाटी डटकमसँग कुरा गर्दै आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

महासचिव शिवाकोटीले आफूले पेसागत संस्थामार्फत् लोकतन्त्रलाई बल पुग्ने गरी विभिन्न योगदान गरेको दाबी गर्दै यो पटक प्रत्यक्ष राजनीतिको मूलधारमा किन प्रवेश नगर्ने भनेर नै आफू यसअघि महाविधेशन प्रतिनिधिको निर्वाचनमा होमिएको अवगत गराए । काँग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् । उनी २०६२/०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । पछिल्लो समय तत्कालीन सभामुख कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चा कमाएका शिवाकोटी पछिल्लो समय राजनीतिक मूलधारमा आउने इच्छा व्यक्त गरेका हुन् ।

पत्रकार शिवाकोटीले काठमाडौंमा पत्रकार सम्मेलन नै गरी उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका छन् । शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने रहिरहने बताए । काँग्रेस विधानअनुसार केन्द्रीय समितिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update