पाल्पा, कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले कमल राज रेग्मीको नाममा स्थापित सो पुरस्कारबाट शाक्यलाई सम्मान गरेको हो ।
प्रतिष्ठानले शनिबार एक औपाचारिक कार्यक्रमकाबिच शाक्लाई ५१ हजार नगद, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पुरस्कारका संस्थापक तथा प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीले संयुक्त रुपमा शाक्यलाई सम्मान गरेका हुन् । सम्मानित व्यक्तिलाई बधाई दिर्दै प्रमुख अतिथि खनालले पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको अमूल्य योगदान रहेको बताए । उनले सात सालका क्रान्तिका कमाण्डर रेग्मीको नाममा सुपुत्रद्वारा पुरस्कार स्थापना हुनु पाल्पाको गौरवको कुरा भएको उल्लेख गरे । पुरस्कारका संस्थापक डा. रेग्मीले विभिन्न क्षेत्रबाट समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुको कदर स्वरुप पुरस्कार स्थापना गरिएको बताए ।
कार्यक्रममा तानसेन नगर कार्यपालिका सदस्य सविता भट्टराई , बुद्धिजीवी बासुदेव अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्क्ष मुक्ति न्यौपाने, तानसेन –३ का वडा अध्यक्ष बाबुरत्न शाक्य लगायतले शुभकामना व्यक्त गरेका थिए । समारोहमा साहित्यकार रामप्रसाद अर्यालले कमलराज रेग्मीको व्यक्तित्व र योगदान माथि प्रकाश पारेका थिए । शिक्षाविद् बुद्धिप्रसाद शर्माले पुरस्कृत व्यक्तित्व दिलबहादुर शाक्यको चर्चा गरे । विभिन्न १० वटा आधारस्तम्भभित्र रहेर पुरस्कृत व्यक्ति छनौट गरिएको प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले बताए । कार्यक्रममा कवि प्रेम खराल र तेजनारायण ढकालले कमलराज रेग्मीसंग सम्बन्धित कविता वाचन गरेका थिए । पुरस्कृत भएका शाक्यले प्रतिष्ठानले आफ्नो योगदानको कदर गरेकोमा धन्यवाद व्यक्त गरे । प्रतिष्ठानले यस अघि उक्त पुरस्कारबाट साहित्यकार झपेन्द्र जिसी, बैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पताली प्रमुख डा. रचेल कारख र साहित्यकार पत्रकार मोहन दुवाललाई पुरस्कृत गरिसकेको छ । यस बर्ष कमल राज रेग्मीको शतवार्षिकी परेकोले विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष अध्यक्ष पुष्कर अथक रेग्मीले बताए । अध्यक्षत रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित ज्ञवालीको स्वागत, कलाकार गायककार बुद्धरत्न शाक्यको स्वागत गीत र महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


