Shittalpati
तानसेनका थप ४ जनामा कोरोना पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पा तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।

पाल्पामा अहिलेसम्म १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ९८ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६० जना स्वास्थ्यकर्मी रहेका छन् । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि निको भएर घर फर्किनेहरुको संख्यामा पनि वृद्धि भएको छ । अहिलेसम्म पाल्पामा कुल संक्रमित मध्ये ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । बुधबार मात्र जिल्लाका १३ जना संक्रमितले कोरोना जितेका थिए । अहिलेसम्म माथागढी गाउँपालिकाका ४८, रामपुर नगरपालिकाका १ सय ७०, पूर्वखोला गाउँपालिकाका १ सय ७५, रैनादेवी छहरा गाउँपालिकाका ५२, रम्भा गाउँपालिकाका ६८, बगनासकाली गाउँपालिकाका ५४, तिनाउ गाउँपालिकाका ४२, रिब्दीकोट गाउँपालिकाका २९, निस्दी गाउँपालिकाका १ सय ५, तानसेन नगरपालिकाका र अन्य अस्पतालमा १ सय २८ जना संक्रमितले कोरोना जितेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update