Shittalpati
सहकारीका विकृति नियन्त्रण गर

सहकारी भनेको सहकार्य गर्ने संस्था हो । यथार्थ भने यस्तो छैन । सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने र कुम्ल्याउने ? हो भन्ने बुझाइ छ । मुलुकभर ३५ हजार हाराहारीमा सहकारी छन् । आधाजसो बचत तथा ऋण सहकारी छन् । तर ति अधिकासं सहकारीहरु पैसा कमाउने व्यवसाय भनेर कहलिएका छन् । पछिल्लो समयका घटनाक्रमले भने सहकारी ठगीको माध्यम भइरहेको देखाएका छन् । सर्वसाधारणले खाई नखाई कमाउँदै एक/दुई पैसा जम्मा गरेको ठगेर सहकारी सञ्चालकहरू दिनप्रतिदिन भाग्ने क्रम बढेको छ । केही दिन अघि मात्र काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी सञ्चालक भागेको खबर बाहिर आएको छ । हुन त यो खबर नयाँ भने होइन, विगतमा पनि यस्ता घटना घटेका थुप्रै घटनाहरु छन् ।

केही सहकारीहरुले आफ्नो कार्यक्षेत्र र सिद्धान्त बाहिर गएर एकातिर राज्यको नियम कानुन र ऐनहरुको खिल्ली उडाईरहेका छन् । तर त्यस्ता सहकारीहरुलाई कारवाहीको दायरामा ल्याउन नियामक निकायहरु कानमा तेल हालेर बसिरहेका छन् । केही सहकारीहरु कसैलाई नर्टेने छाडा साँडे जस्ता भएका छन् । प्रचलित बैंक तथा वित्तीय संस्थाको भन्दा बढी ब्याज पाइने लोभले बचतकर्ताले सहकारीमा निक्षेप गर्ने गर्छन् । सहकारीमा स्रोत नखुलेको पैसा पनि राख्ने गरिन्छ । कुनै बेला वार्षिक २० प्रतिशत ब्याज र ब्याजमाथि स्याज पनि असुल्दै आएका सहकारी सञ्चालक नियत खराब तर संख्या धेरै भएका कारण जनताको निक्षेप जोखिममा पर्दै गएको हो । सहकारीसहितको अर्थतन्त्रलाई तीन खम्बे आर्थिक नीति भन्ने गरिन्छ । तर अधिकांश सहकारीको अनुमगन र नियमन हुन नपाउँदा अधिकांश सहकारीमा विकृति र विसंगति व्याप्त छ । उचित नियमन हुन नपाएका कारण कुन सहकारीका सञ्चालक कति खेर फरार हुन्छन् भन्नै नसकिने स्थिति आइसकेको छ । सहकारीको सिद्धान्तअनुसार घरजग्गा र सेयरमा लगानी गर्न पाइँदैन । अहिले अधिकांश ठूला बचत तथा ऋण सहकारी संस्थाले ती क्षेत्रमा लगानी गरेका छन् । तर, घरजग्गा र सेयर कारोबारमा लगानी गरी सर्वसाधारणको रकम डुबाउने संस्था र व्यक्तिहरूलाई कारवाही नहुनु दुःखद पक्ष हो । अझै पनि सहकारीलाई व्यवस्थित गर्ने तर्फ ध्यान नदिने हो भने आउँदा दिनहरुमा पनि धेरैै सर्वसाधारणको सम्पत्ति डुब्ने सम्भावना छ । यसर्थ यस्तो अवस्था आउन नदिन सहकारीको मूल्य र मान्यता अनुरूप प्रभावकारी ऐन बनाई नियन्त्रणमा कडाई गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update