Shittalpati
उड्डयन दिवसको सवाल

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रम गरी यो दिवस मनायो । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले १९ सय ९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो । आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन् । हाल नेपालमा सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनीका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान गर्दै आएका छन् । नेपालमा यो दिवस मनाउँदै गर्दा हवाइ यातायात सुरक्षित, भरपर्दो र नियमित बनाउनुपर्ने चुनौती छ । नेपालको भौगोलिक अवस्थिति र भू–धरातलीय स्वरुपका कारण आन्तरिक तथा बाह्य सम्पर्कका लागि हवाइ यातायात नै भरपर्दो माध्यम हो । यद्यपि यसका लागि स्तरीय हवाइ सेवाका लागि चाहिने भौतिक पूर्वाधार, विमानस्थलहरुको स्तरोन्नति लगायत अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको उड्डयन तथा हवाइ सुरक्षालाई सुनिश्चित गर्नुपर्ने खाँचो उत्तिकै देखिन्छ ।

हवाइ यातायातलाई सुनिश्चित गराउने, वायुसेवालाई सुविधा प्रदान गर्ने, नियन्त्रण तथा नियमन गर्ने, विमानस्थलमा आवश्यक पर्ने सेवा–सुविधाहरुको निर्माण, विकास तथा दुर्गम क्षेत्रको लागि अत्यावश्यक हवाइ सेवाको सुनिश्चितता र अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा सञ्चालन गर्ने संस्थाहरुलाई प्रोत्साहन गर्न चार्टर उडानसम्बन्धी व्यवस्थालाई सरलीकरण गर्नेलगायतका नीतिले पर्यटकहरुलाई नेपाल भित्र्याउने दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पुगेको छ । नागरिक उड्डयनका तहमा जे जति कुरा गरिए पनि हाम्रो भूगोल र पारदर्शी व्यवस्थापनको पाटो सबल हुनु भने अपरिहार्य छ । यद्यपी भौगोलिक बनावट, गुणस्तरीय पक्ष लगायतका सन्दर्भानुसार अन्तर्राष्ट्रिय मापदण्ड विकास गर्नु आजको चुनौती पनि हो । चरा ठोक्किने समस्याले पनि यी सन्दर्भमा निकै असर पार्ने कुरालाई चर्चामा ल्याइने गरेको पाइन्छ । विमानका सामग्री किनमेलमा भ्रष्टाचारका आरोप लाग्ने गरेका विगत र नेपाली आकाशमा मानवीय कमजोरीका कारण हुने गरेका दुर्घटनाले नेपाल समस्याकै तहमा बढी लाञ्छित देखिन्छ । यो साखलाई जोगाउने तहबाट पनि बढी सचेतना अपनाउनु आवश्यक देखिन्छ । कम्तीमा उड्डयनका सन्दर्भमा भवितव्य बाहेकका क्षेत्रमा सतर्कता अपनाउने विषयमा सरकारले नीति, नियमलाई तय गरेर नेपाली नागरिक उड्डयनको विश्वासलाई विकास गर्नु अपरिहार्य छ । संसारका घटिरहने विमान बेपत्ताका घटनादेखि दुर्घटनाका तहबाट नेपाली सरोकारवालाले सन्दर्भगत रूपमा अथ्र्याएर मनन् गर्नु आवश्यक देखिन्छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update