Shittalpati
विकृति र विसंगतिमुक्त दशैं बनाउने की ?

चाडपर्व आएर के गर्नु बावु पहिले भन्दा झन उपभोग्य वस्तुको मूल्य बढेर छोइसाध्य छैन, हामी (गरीव) नियमित दैनिक आम्दानी नहुनेका लागि त दशै, दशै नभएर दशा भइरहेको छ । एकजना जेष्ठ अभिभावकले सामान्य गफगाफका क्रममा व्यक्त गर्नु भएको यो भनाईबाट पनि प्रष्ट हुन्छ की जब चाडपर्वहरु भित्रिन थाल्दछन् केही सिमित वर्ग बाहेक अधिकाश नेपालीको दैनिकी झनै कष्टकर हुँदै गहिरहेको देखिन्छ । सरकारले बाजा बजाएर बजार अनुगमन गरेको सुनिन्छ तर परिणाम शून्य हुन्छ । सरकारले चाडपर्व लक्षित अनुदान र सहयोगको घोषणा गर्दछ तर त्यो लक्षित वर्गमा आउन पाउँदैन । कालाबजारी, कृत्रिम अभाव र आफूखुसी मूल्य बढाउने प्रवृतिलाई नियन्त्रण गर्न नसकिरहेको देखिन्छ । जे जस्तो समस्या र अपठ्यारा स्थिति आएता पनि दशैं हिन्दुहरुको मात्र हैन संसारभर रहेका हरेक नेपालीको एक मात्र एकता र भाइचाराको सुत्रमा बाध्ने महान पर्व हो । यिनै विविध पक्षको चर्चा परिचर्चा यहाँ गर्न खोजिएको छ ।

विषय प्रवेश गर्नु पूर्व दशै पर्वको सामान्य चर्चा गर्नु पर्दा उपयुक्त होला । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नव दुर्गाका विभिन्न रुप र शक्ति पिठको आराधाना गर्दै दशौं दिनको दिन मान्यजन तथा ठूला वडाबाट रातो टिका र जमरा लगाउने परम्परा रहेको यो पर्वलाई वडा दशैं, विजया दशमी आदि नामले पनि चिनिन्छ । केहि जाती विशेष र क्षेत्रमा पूर्णीमा सम्म नै टिका लगाउने चलन रहेको छ । असत्य माथि सत्यको विजयको रुपमा लिइएको यस पर्वलाई जातीय एकता कायम राख्ने राष्ट्रिय पर्वको रुपमा पनि लिने गरिएको पाईन्छ । यस पर्वमा नौ दिनसम्म विभिन्न शक्तिको रुपमा शैलीपुत्री, ब्रह्राचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स् कन्दमाता, कात्यायिन, कालरात्री, महागौरी, सिद्धिदात्रीका नाममा नवदुर्गाका विभिन्न रुपका पुजा गर्ने परम्परा पनि रहेको छ । हाम्रा चाडपर्वमा कतै न कतै वैज्ञानिकताले प्रवेश गरेको पाईन्छ । चाडपर्वहरुले एउटा फरक खुशी र रौनकता थपिदिएको पाईन्छ । हाम्रा पूर्खाले यस्ता चाडपर्व नबनाइदिएको भए हामी पनि युरोपियन, अमेरीकन लगायतका देशका नागरिकले मेसिनको जस्तो जीवन विताउन बाध्य हुनुपर्दथ्यो । पैसा खर्च गरेर खुशी र हाँसो खरिद गर्नु पर्दथ्यो । धन्न हामी त्यो पक्षमा ज्यादै भाग्यमानी रहेछौ । यहाँ हरेक दिन केहि न केहि चाडपर्व मनाई रहेका हुन्छौ । खुशी साटासाट गरिरहेका छौं । यसले पूरै वातावरणलाई उल्लास र रौनक थपि दिएको हुन्छ । हाम्रा पर्वमा रहेका आधुनिकताको नाममा परम्परागत पक्षलाई छोड्दै गइरहेको पाईन्छ त्यो राम्रो कुरा नभएकाले भावि पुस्तालाई चाडपर्वका मौलिक पक्ष जोगाएर राखिदिनु हाम्रो कर्तव्य पनि हो । एकले अर्कालाई आदर, सत्कार र सम्मान गर्ने, मानसम्मान गर्ने प्रवृति घट्दै गहिरहेको वर्तमान परिस्थितिमा यस चार्डको सान्दर्भिकता झनै बढ्दै गइरहेको पाईन्छ । आफूले मान्नु पर्ने मान्यजनको आदर सत्कार गर्ने कुरा, आर्शिवाद लिने र भाइचारको कुरामा यस पर्वले परम्परालाई बचाई रहेको पाईन्छ ।

तर पछिल्लो पुस्ताहरुमा आधुनिकताको नाममा विकृति र विसगंतिले प्रवेश गरेको पाईन्छ । यो विकृतिले खानपान, लगाउने कपडा र पर्व मनाउने तरिकामा राम्रैसँग जरा गाडेको देखिन्छ । यसले एकातिर दशै मनाउने क्रममा घर–घरमा आर्थिक बोझ थपिदिएको छ भने अर्को तर्फ आर्थिक परनिर्भतालाई पनि वृद्धि गरेको तथ्याकं भेटिन्छ । दशैमा विकृतिलाई प्रवेश गराई यसको परम्परागत महत्व नै गुमनाम गर्ने प्रवृति पछिल्लो समय मौलाएको पाईन्छ । युवाहरुमा दशै भन्ने वित्तिकै तास खेल्ने यसमा पनि ठूलो जोखिम उठाएको पाईन्छ । मादक पदार्थ सेवन गर्ने होहल्ला गर्ने, शान्ति सुरक्षामा खलबल ल्याउने, झैझगडा र काटमारसम्म गरेका उदाहरण पाईन्छ । यो पछिल्लो समयमा विकास भएको सबै भन्दा नराम्रो पक्ष हो । युवा वर्ग आ–आफनो ठाँउबाट लागेर यस्ता विकृतिको अन्त्यका लागि लाग्नु पर्ने देखिन्छ । ऋण गरेरै भए पनि घिउ खानुपर्छ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै देखासीकीमा दशैका लागि चर्को व्याज चुक्ता गर्ने शर्तमा ऋण गरेरै भए पनि खसी बोका काट्नै पर्ने, नयाँ लुगा लगाउनै पर्ने, दानदक्षीणा आफ्नो हैसियत भन्दा माथि उठेर दिनै पर्ने, भोजभतेर गर्नै पर्ने प्रवृति हटाई देखासिकी हैन आफ्नो गक्ष अनुशार यो पर्व मनाउनु पर्दछ । जब हाम्रा घर आगनमा दशै पर्व सुरुवातको संकेत देखिन्छ । नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीहरुबाट कृत्रिम अभाव, कालाबजारी लगायत अन्य विभिन्न कारण देखाई व्यापक वृद्धि गरी, हुँदा खाने वर्गको यो पर्वलाई झनै असहज बनाउने प्रयास गरेको पाईन्छ । सोही अवधिमा राज्यका नियन्त्रण र अनुगमनमा खटिएका निकायहरु नदेखे जस्तै, नसुने जस्तै, थाहा नपाए जस्तै गरेर बसेको देखिन्छ भने अनुगमनमा निस्की हाले भने पनि तामझामसँग निस्किएको पाईन्छ । यस्तो नियन्त्रणको तरिकाले खासै प्रभाव नपारेको देखिन्छ नेपालका बजारहरुलाई भन्ने गरेको सुनिन्छ आफ्नालाई बचाउन र पराईबाट दशै खर्च अशुल्नका लागि यो कार्य गरेका हुन रे । विभिन्न सिलसिलामा घरबाट बाहिर रहेका नागरिक घर फर्किदा चर्को र ढाड सेकाउने भाडा भुक्तान गरी रहेको सुनिन्छ । नियन्त्रणमा सरकार असफल देखिन्छ ।

परिवार संख्या हेरेर हो उपभोग्य वस्तु, माछा मासु खरीद गर्ने । दुभाग्य हामी छिमेकीलाई हेरेर अथवा अरुलाई देखाउने मानसिकता बोकेर खरीद गरिरहेका हुन्छौ । यो हाम्रो फजुल खर्चको मानसिकता हो । धाक लगाउने मानसिकता हो । समाजका मार्ग दर्शक, गन्यमान्य र पढेलेखेका मानिसहरु नै यस पक्षमा झनै अगाडि देखिन्छन् । यो हुनु नेपाली समाजको लागि दुर्भाग्य हो । यस पक्षमा सुधार गरी आफ्नो हैसियत अनुसार चल्ने बानीको विकास गर्नु पर्दछ । आफ्नो बानी व्यवहारमा सुधार नगर्ने चाडपर्वलाई दोष दिने प्रवृतिको अन्त्य गर्न जरुरी देखिन्छ ।
आयो दशैं ढोल बजाई गयो दशै ऋण बोकाई भने झै हामीले हाम्रा चाडपर्वहरु आफ्नै परम्परागत तरीकाले मनाउन जरुरी छ । एक दिनको रमाईलोले वर्ष दिन पिडा लिने गरी मनाउनु हुँदैन । आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्दछ , त्यसैमा चाडपर्व मनाउनु पर्दछ । यस्ता चाडपर्वहरुमा रहेका मौलिक पक्षलाई बचाई कम खर्चिलो, विकृति र विसंगति मुक्त, सद्भाव, एकता र भातृत्वको चाडको रुपमा मनाउने परम्परागत पक्षलाई कायमै राख्नु पर्दछ । यसलाई समृद्धिको चाड बनाउनु पर्दछ । धनी र गरिब बिच विभेद खडा गर्ने होइन समानताको चाड बनाउनु पर्दछ । आफ्ना देखासी की गर्ने, आम्दानीको हिसाव किताव नगरी खर्च गर्ने बानी व्यवहारको अन्त्य गरी चाडपर्वहरु मनाउ । नेपालीजनको महान चाड वडा दशै अथवा विजया दशमी २०७८ को सम्पूर्णमा सुख, शान्ती, समृद्धि र स्वस्थ जीवनको हार्दिक मगलमय शुभकामना ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update