Shittalpati
चाडपर्वसँगै संक्रमणको जोखिम

हाल अर्थतन्त्र र जनजीवन चलायमान बनाउन जारी निषेधाज्ञा खुला गरिएको छ । योसँगै चहलपहल ह्वात्तै बढेको छ । अझ दशैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा भिडभाड र आवतजावत झन् बढ्ने निश्चित छ । यस्तो अवस्थामा सावधानी नपुगे संक्रमण अझै भयावह बन्ने जोखिम देखिएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेको विज्ञहरुले बताइरहे पनि बजारमा खाद्यान्नदेखि लुगाफाटोसम्मको किनमेल गर्नेहरुको भिड दिनप्रतिदिन बढ्दै गएको छ ।

संक्रमणदर केही घटेको जस्तो देखिए पनि जोखिम भने कायमै छ । अहिले त मुख्य चाडपर्व दशै, तिहार र छठ नै नजिकिँदै छन् । यसबेला सबैतिर किनमेलदेखि यात्रामा भिडभाड बढ्ने नै भयो । सरकारले जनजीवन सहज बनाएकै भरमा कोरोना केही होइन भन्ने ठानियो भने संक्रमणले झन् च्याप्नेछ । त्यसैले पनि विशेष सावधानी अपनाउन र तोकिएको मापदण्ड पालनामा सचेत हुनु आवश्यक छ । चाडबाडको यो बेला बजार जाँदा र सार्वजनिक सवारीमा यात्रा गर्दा विशेष ध्यान पुर्‍याउनु अनिवार्य छ । सरकारलाई पनि भिडभाड व्यवस्थापन गर्नु मुख्य चुनौती बनेको छ । यसमा व्यवसायी र सेवाग्राही दुवै सचेत नभए व्यक्ति–व्यक्ति र घर–घरमा संक्रमण पुग्ने जोखिम छ । शहरी क्षेत्रको तुलनामा अहिले गाउँघर संक्रमणबाट केही सुरक्षित छन् । पर्वमा विदेशमा रहेका नेपालीहरू पनि स्वदेश फर्कने गर्छन् । हेर्दा अन्तरदेशीय भेटघाट जस्तो देखिने बडादसैंको मिलन कोरोना महामारी संक्रमणको हिसाबले निकै जोखिमपूर्ण हुन जाने देखिएको छ । तीजमा सतर्क गराउन र अनुरोध गर्न त सकियो तर रोक्न सकिएन । यस्तै अवस्था बडादसैंमा आउने निश्चित छ । त्यस लगत्तै कात्तिक महिनामा तिहार र त्यसलगत्तै तराईको सबैभन्दा ठूलो चाड छठ लगातार आउँदै छन् । यी पर्वमा हुने भेटघाट र जमघटले महामारी फेरि बढ्ने त होइन भन्ने आशंका र चिन्ता जन्माइरहेको छ । यी पर्वहरूमा हुने घुलमिल र भेटघाट क्षणिक हुँदैनन् । भेटघाट र पाहुनाको ओइरो लागिरहन्छ । विभिन्न परिकार बाँडीचुँडी खाने र एक ठाउँबाट अर्को ठाउँमा लाने क्रम व्यापक रूपमा चल्छ । यसले पनि महामारी संक्रमण एकबाट अर्कोमा र एक ठाउँबाट अर्को ठाउँमा सर्न र सार्न मद्दत पुर्‍याउने देखिन्छ । त्यसैले चाडबाडमा किनमेलदेखि गृह जिल्ला फर्किँदा, भेटघाट गर्दा वा टीका लगाउँदासम्मका सुरक्षा उपायबारे अहिलेदेखि योजना बनाउनु आवश्यक छ । अन्यथा सामान्य हेलचक्र्याइँले पनि चाडबाडको रमझम संकटलाई निम्तो बन्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update