Shittalpati
बहुमत प्राप्त सरकारको दुई वर्ष र त्यसको मूल्याङ्कन

जोन मिल्टनले भनेका छन् कि “child shows the man as morning shows the day” अर्थात् हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुर्सो पात । नेपालको इतिहासमा हालसम्म कै सबै भन्दा बलियो सरकार अहिलेको नेकपा सरकार हो । २०१५ सालमा निर्वाचित नेपाली काँग्रेसले प्राप्त गरेको दुई तिहाई बहुमतको सरकार भन्दा पनि हालको नेकपा सरकार धेरै शक्तिसाली हो । किनकी दुई ठूला पार्टी तत्कालिन ए नेकपा माओवादी र तत्कालिन एमाले मिलेर नेकपा मार्फत सरकार गठन भएको हो । स्थानीय तहको निर्वाचन भएको करिब ३ वर्ष बित्न लाग्यो भने प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको पूर्णरुपमा दुई वर्ष बितिसक्यो । सबैलाई थाहा छ कि विगतको भन्दा धेरै बलियो सरकार हाम्रो देशमा छ । प्रतिपक्ष पनि अत्यन्त्यै कमजोर अवस्थामा रहेको छ ।

विगतमा नेपाली जनताले पटक–पटक अस्थिर र अल्पमतको सरकार भोगेर वाक्क दिक्क हुनु स्वभाविकै थियो । त्यसकारण स्थिर सरकारको चाहाना गरी नेपाली जनताले एकपटक नेकपालाई मौका दिएका हुन् । अर्कोतर्फ चोरको हातमा साँचो दियो भने सम्पत्तिको सुरक्षा भई हाल्छ कि भन्ने पनि होला । नेपालमा कम्युनिष्टहरुको लोक प्रिय नारा,पटक पटकको क्रान्ति, झापा विद्रोह देखि कथित जनयुद्वसम्म नेपाली जनतालाई नेकपाले दिएका आश्वासनको कारण पनि नेकपाले बहुमत पाएको हो । दुई वर्षे अवधिमा नेकपा सरकारले आफ्नो वाचाहरु कति पालना ग¥यो । अब नेपाली जनताले प्रश्न गर्ने बेला आएको छ । नेकपा सरकारको हाल सम्मको छाँटकाँट कस्तो छ र जनता प्रति यसको व्यवहार कस्तो छ । नेकपा सरकारको दुई वर्षे मूल्यांकन र भावी दिन कस्तो हुन सक्छ भन्ने विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । नेकपा सरकार दुई वर्ष पुगेपछि यसको मूल्यांकन गर्नका लागि नेपाली जनताले केहि प्रश्नहरु गर्न सक्छन् ।

(१) नेकपा सरकारले संविधानको कार्यन्वयन गरेको छ कि छैन ? कार्यन्वयन गरेको छ भने कसरी गरको छ ? (२) के यो सरकाले जनतालाई सुशासन दिन सकेको छ ? विधिको शासन र नियम कानुनको पालना कसरी गरको छ ? (३) नेकपा सरकार गठन भइसकेपछि प्रतिपक्षसँग कस्तो किसिमको सहकार्य गरेको छ ? र व्यवहार कस्तो छ ? (४) सुखी नेपाल र समृद्ध नेपाल भन्ने यो सरकारको नारा हो भने विकास प्रति नेकपा सरकारको धारणा के छ ? र कसरी चलेको छ ? (५) नेकपा सरकारको परराष्ट्र नीति सन्तुलित छ कि छैन ? र हाल सम्म कस्तो छ ? (६) नेकपा सरकारले स्थानीय समस्याहरुलाई कसरी हेरेको छ ? (७) विशेष गरी यो सरकारको नियत के कस्तो छ ? बोल्ने एकातिर गर्ने अर्कोतिर छ कि ? (८) लोकतन्त्रको सवालमा यो सरकारको व्यवहार कस्तो देखिदै गएको छ ? (९) सबैले बुझ्न पर्ने र प्रत्येक नागरिकले थाहा पाउनुपर्ने यो छ कि यो सरकारले आफ्नो चुनावी घोषणा पत्रलाई कत्तिको ख्याल गरेको छ ? एकपटक फर्केर हेरेको वा पढेको छ कि छैन ? आदि इत्यादी कोणबाट नेपाली जनताले नेकपा सरकारको मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।

नेपाली जनताले यो निचोड निकाल्न सक्छन् कि यो सरकार राष्ट्रियता विरोधी चरित्रको देखिन्छ । किनकी राष्ट्रवादी चरित्र बोकेर नेकपाले सरकारमा लगभग दुई तिहाई बहुमत प्राप्त गरेको थियो । तर सत्तामा गई सकेपछि नेकपा सरकारको चरित्र राष्ट्रियताप्रति गम्भीर नभएको देखिन्छ । भारत र अमेरिका प्रति लम्पसारवाद, आत्मसमर्पणवाद देखाएको छ । नेकपा सरकारको अन्तर्राष्ट्रिय नीतिमा दोहोरो चरित्र रहेछ भन्ने छर्लङ्ग भएको छ । किनकी सत्तामा हुँदा एउटा कुरा सत्ताबाट बाहिर आइसकेपछि अर्को कुरा गर्ने कम्युनिष्टहरुको चलन भईसकेको छ । भारतले लिपु लेक, लिम्पियाधुरा र कालापानी उसको नक्शामा पारेर भारतीय नक्शा जारी गर्दा पनि नेकपा सरकारले नेपालको नक्शा जारी गर्न खुट्टा कमाएको देखिन्छ । चाइना प्रति भने भक्तिभाव प्रकट गरेको जस्तो देखिन्छ ।

नेकपा सरकारले जतिसुकै लोकतन्त्रको गफ चुटे पनि व्यवहारमा निरंकुश प्रवृति देखाउन छोडेको छैन । प्रेस माथि अंकुश लगाउन खोज्ने,न्यायलय र अख्तियारलाई नेकपाको शाखा बनाउन खोज्ने, सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउन खोज्ने,राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई प्रधानमन्त्रीको मातहतमा राख्नका लागि संसदमा विधेयक पास गराउन खोज्ने जस्ता दर्जनौ गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरिरहेको देख्न सकिन्छ । नेकपा सरकारले संविधानको पूर्ण कार्यन्वयन गर्नमा आनाकानी गरेको छ । संघीयता विरोधी चरित्र देखाएको छ । किनकी प्रदेश सरकार र स्थानीय सरकारलाई केन्द्र सरकारले जबर्जस्ती अंकुश लगाउन खोजेको छ । स्थानीय तह र प्रदेश सरकारको अधिकार माथि हस्तक्षेप गरेको छ । बेला–बेलामा मुख्यमन्त्रीहरुको आक्रोस र गुनासोबाट पनि यो सरकार संघीयता बिरोधि हो भन्ने स्पष्ट प्रमाण हुन्छ । नेकपा सरकारले नैतिक पतनहुने कार्य गर्दै आएको छ ।

ललिता निवास प्रकरणमा निष्पक्ष छानबिन गर्न नदिई अख्तियारलाई प्रभावमा पारेको छर्ल· देखिन्छ भने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएका छन् । नेकपा सरकार स्वयं संस्थागत भ्रष्टाचारमा लागि परेको देखिन्छ । सरकारी ओहोदामा बसेका व्यक्तिहरु नवधनाढ्यको रुपमा दिन दुई गुणा रात चौ गुणाको रुपमा स्थापित हुँदै गएको पाइन्छ । यसैले भ्रष्टाचारीहरुको नेकपा सरकारबाटै संरक्षण भएको छ । नेकपा सरकारले केवल शासन मात्रै गरेको छ तर जनतालाई सुशासन दिन सकेको छैन । मेलम्ची, वाइड बडी, बुढी गण्डकी, पोखरा, निजगढ, भैरहवा विमानस्थल, निर्मला काण्ड, तेत्तीस किलो सुन काण्ड, एनसेल काण्ड, सिण्डिकेट खारेज आदि कामहरुमा भ्रम छर्ने मात्रै काम गरेको छ । प्रधानमन्त्रीको जन्महोत्सव काण्ड, वामदेवलाई सरकारमा जैजानका लागि संविधान संशोधन गर्ने काण्ड, शेरबहादुर तामाङ, महरा काण्ड, गोकुल बास्कोटा काण्ड पनि एक पछि अर्को थपिदै जाने काम भईरहेको छ । सरकारले सुशासन दिएको भए सहभागिता, समावेसी, पारदर्शिता र जवाफदेहितालाई ध्यान दिनुपर्ने थियो, तर यस प्रति पूर्ण व्यवास्ता गरेको छ ।

वेरोजगार दिनप्रतिदिन बढ्दै गएको छ भने, नयाँ उद्योग कलकारखाना कही कतै स्थापना भएका छैन । भएका कलकारखानाहरु पनि वन्द हुने स्थितिमा छन् । वैदेशिक लगानी कतै पनि भित्रिएको पाइदैन । झुठको प्रचार गर्नेमा इतिहास मै नेकपा सरकारलाई कसैले जित्न सक्ने अवस्था छैन । भारतीय नक्शाको बारेमा भारतीय राजदूतावासले पठाएको पत्र लुकाएर प्रधानमन्त्रीले आमनागरिकलाई ढाट्ने काम सदन मै गर्न पछि परेनन् । भारतबाट ल्याइने तरकारीको विषादी प्रयोग गर्ने कुरा एक्कासी बन्दगरी नागरिकको जीवनमा खेलवाड गर्ने कार्य नेकपा सरकारबाटै हुन गयो । नेकपाले अरुण तेस्रो योजना गुमाएर नेपाललाई धेरै वर्ष अन्धकारमा राख्ने काम ग¥यो भने बल्ल अहिले आएर भारतीय कम्पनीलाई दिने सम्झौता गरेको छ । विपक्षलाई अरिंगालको गोला भएर आक्रमण गर्न प्रधानमन्त्रीबाट ठाडो निर्देशन दिने काम भयो । यसबाट पनि सरकारले प्रतिपक्ष प्रति सदाचार देखाउन सकेन । २०७४ सालको स्थानीयतह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जनताका सामु बामगठबन्धन पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । उसले आफ्नो चुनावी घोषणा पत्रलाई एकपटक पनि फर्केर अध्यन नगरेको हो कि जस्तो छ । चुनावी घोषणा पत्रमा भनिएको छ कि नेपालको पानी जनजनको लगानी, घरघरमा विजुली जनजनमा शेयर भन्ने नारा सरकार गठन भएको दुई वर्ष हुँदा पनि जनतामा कार्यन्वयन हुन सकेको छैन ।

आगामी ५ वर्ष भित्र नेपाललाई विकासिल राष्ट्र बनाउने कुनै संकेत देखिन्न । नेकपा सरकार गठन भएको दुई वर्ष भित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा, दूधमा आत्मनिर्भर बनाउने नारा झुठको खेती सावित भएको छ । मध्यपहाडी राजमार्ग, हुलाकी, साल झण्डी ढोरपाटन राजमार्ग जस्ता ठूला राजमार्गहरु अलपत्र परेको देखिन्छ । दुई वर्ष भित्र भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न भइसक्ने कुरा पनि नेकपाको चुनावी घोषणा पत्रमा छ तर पुरा गर्न सकेको छैन, रेल र पानी जहाजको कुरा गफमा सिमित होला जस्तो छ । विकट गाउँहरुमा एयर एम्बुलेन्स सञ्चालन गर्ने, १५ वर्ष मुनि र ६५ वर्ष उमेर माथिकालाई निशुल्क उपचार गर्ने नारा झुठको खेती मात्रै भएको छ । सामाजिक सुरक्षा भत्ता चुनाव जित्न वित्तिकै मासिक ५ हजारका दरले खनखनी दिनेदेखि ६५ वर्ष माथिकालाई २५ प्रतिशत छुट र ७५ वर्ष माथिकालाई ५० प्रतिशत यातायातमा छुट गरिदिने नारा कहीं कतै लागु भएको छैन ।

सरकारी अस्पतालमा वच्चा जन्माउनेलाई ५ हजार सुत्केरी भत्ता र आगामी १ वर्ष भित्र सबै नागरिकलाई विद्युतीय राष्ट्रिय परिचय पत्र वितरण आदि कुरा पनि नेकपाको घोषणा पत्रमा उल्लेख छ तर सरकारले वास्ता गरेको छैन । तसर्थ चुनावी घोषणा पत्र भनेको जनतासँग गरिएको तमसुक हो । यसै आधारमा जनताले भोट हालेका हुन । नेपाली जनता सबैले चुनावी घोषणा पत्र अध्यन नगरेका हुन सक्छन् तर नेकपाका नेताहरुले नेकपाको चुनावी घोषणा पत्रलाई आधार मानेर निर्वाचनमा भाषण गरे । नेकपाको चुनावी घोषणा पत्रलाई जनताले विश्वास गरेर भोट हालेका हुन तर चुनावमा जस्तो बोले पनि हुन्छ भन्ने मान्यता यो सरकारले राखेको हो कि ? नेकपा सरकारको दुई वर्षे कार्यकाललाई मूल्यांकन गर्दा गरिब तथा निमुखा जनताले नेकपा सरकारको भ्रम र झुठा नारा खाएर बाँचेका छन् ।

यो सरकारलाई काम गर्नमा वाधा अड्काउने अर्को शक्ति छैन । सरकार बहुमतको हिसाबले पूर्ण स्वतन्त्र छ तर आफ्नो चुनावी घोषणा पत्रमा बोलिएका कुरा किन लागु गर्न सकेन जनताले प्रश्न गर्न थालेका छन । प्रधानमन्त्रीको सुखी नेपाल र समृद्ध नेपाल बनाउने नारा भाषण मै सिमित रहने कुरा पक्का छ । नेकपा सरकारको अवस्थालाई अध्यन गर्दा नहुने विरुवाको ख्रसो पात भने झैँ भावी दिनमा पनि जनतालाई सन्तोषजनक काम दिने संकेत देखिन्न ।
(लेखक नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update