Shittalpati
वातावरण संरक्षणमा ध्यान दिऊ

नेपालमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । बढ्दो जनसंख्याको कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोगले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषण हुने गरेको छ । नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू छन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ ।
जलवायु परिवर्तनले आम मानिसको जीवनमा असर पु¥याउन थालिसकेको छ । जलवायु परिवर्तनका कारण मानव जीवन मात्र होइन कृषि, खाद्यान्न, जलस्रोत, वन–जंगल, भौतिक पूर्वाधारलगायत समग्र क्षेत्रमा असर परिरहेको छ । तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर देखापर्न थालेको छ । विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिए स्वच्छ वातावरण राख्न सकिन्छ । स्वच्छ वातावरण कायम राख्न जल, जंगल र जमिन पर्याप्त मात्रामा रहेको नेपालमा पछिल्लो समय स्वच्छ वातावरण कायम राख्ने कुरालाई ख्याल गर्न छोडिएको छ । संविधानमा स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा व्याख्या गरिए पनि कार्यान्वयन भने फितलो बन्दै गएको छ । मुलुक संघीयतामा गएपछि स्थानीय सरकारहरूले त अझ यसको बेवास्ता गरिरहेका छन् । वातावरण संरक्षण नगरी विकास निर्माण अघि बढाउँदा यसको दीर्घकालीन असर पर्छ भन्नेतर्फ सबैभन्दा पहिले तीनै तहका सरकारले ध्यान दिन जरुरी छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले वातावरण स्वच्छ राख्नु तीनै सरकारसँगै हामी सबैको कर्तव्य हो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update