Shittalpati
नारी दिवसको सार्थकता

प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । आज पनि विश्वभर यो दिवस मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको छ । विश्वका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै आएको छ । तर बिडम्वना, नेपाली महिलाले आफ्नो लैङ्गिक अधिकारको समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिंदैन । जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने नेपाली महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु जनाएको पनि छ । तर त्यो प्रतिवद्धता कार्यन्वन भने हुन सकिरहेको छैन । महिला अधिकार र समानताको नारा जतिसुकै घन्किए पनि छोरी र बुहारीलाई गर्ने व्यवहारमा परिवर्तन आउन सकेको छैन ।

नेपालमा नारी माथि दमनमात्र होइन, हत्याहिंसा र बलात्कारका श्रृंखला चलिरहेको छ । छोरीचेली दिनानुदिन असुरक्षित बन्दै गएका छन् । ११३ वर्षदेखि चलेको नारी अधिकारको सन्दर्भ आजपर्यन्त पनि जारी नै छ । एक्काइसौं शताब्दीको संघारमा आइपुग्दा पनि महिलालाई पनि पुरूषसरह अधिकार दिइनुपर्छ भनेर आवाज उठिरहेको छ । महिला र पुरूषलाई एक सिक्काको दुई पाटा भन्ने गरिए पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन । संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । तर विडम्वना नै मान्नु पर्छ आजको समयसम्म पनि नेपाली महिलाहरु परिवार, समाज तथा राष्ट्रकै दृष्टिमा पनि दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्न बाध्य छन् । महिलाका हकअधिकारलाई सफल कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता हो । महिला अधिकारका लागि महिलामात्रै सचेत भएर पुग्दैन, पुरूषलाई पनि सोहीअनुसार सचेत बनाइनुपर्छ । त्यसका लागि समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण गर्न जरूरी देखिन्छ । अनिमात्रै अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको सार्थकता रहने छ ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update