Shittalpati
क्रिकेट टिमलाई बधाई !

बिहीबार भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाली खेलाडीले विजयी प्राप्त गरेसँगै नेपालमा खुसीयाली छाएको छ । विश्वकप लिग–२ मा यूएई माथि भएको जित नेपालका लागि ऐतिहासिक सफलता हो । यस कारण पनि नेपालीमा खुसीयाली छाउनु स्वाभाविक नै हो । नेपालले यूएईलाई हराएर कीर्तिमान नै बनाउन सफल भयो । नेपालले उक्त खेल जितेरै विश्वकप क्वालिफायरमा सिधै छानिन पाएको छ । यो खेल हारेको भए नेपालले क्वालिफायर खेल्न प्लेअफ खेल्नुपर्ने थियो । अब नेपालले सिधै टेष्ट मान्यताप्राप्त राष्ट्रहरुसँग भारतमा हुने विश्वकपका लागि जिम्बावेमा क्वालिफायर खेल्नेछ । यसले नेपाल र नेपालीको शानलाई थप उचाईमा पु¥याइदिएको छ । विश्वकपका लागि तय गरेको यात्रा सामान्य होइन् । यसमा नेपाली सिनियर टिमले यो अवस्थासम्म आइपुग्दा निकै ठूलो मेहनत गरेको छ । जबकि यही विश्वकप लिग २ मै टिमले आधा दर्जन मुख्य प्रशिक्षकलाई बेहोरिसकेको छ । र, अन्तिममा आएका भारतीय मुख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली युवा खेलाडीलाई निकै नै नजिकबाट नियालेर उनीहरुको क्षमतालाई निखार्ने काम गरेका छन् ।

जसरी खेलमा खेलाडी र प्रशिक्षकको भूमिका हुन्छ त्यो भन्दा कयौं गुणा बढी भूमिका व्यवस्थापनको हुन्छ । बिहीबार खेलाडी र प्रशिक्षकले जसरी आफ्नो क्षमता देखाए त्यसरी नै व्यवस्थापन गर्ने जिम्मा लिएको नेपाल क्रिकेट संघसँगै सरकारको उपस्थितिले खेलाडीहरुलाई उत्साह थप्यो । यो जितसँगै खेलाडीहरूमा अझ अरू सफलताका निम्ति उत्साह बढेको छ । विश्व क्रिकेट खेल्न पाउनु सामान्य उपलब्धि मानिन्न । यसले विश्व क्रिकेटको एक उत्कृष्ट टिम हो भन्ने सन्देश समेत विश्वभर प्रवाह गर्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं आफै मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान गरे । यो निकै सकारात्मक पक्ष हो । टिमले जित्दा सरकारले पुरस्कारको व्यवस्था पनि गर्दै आइरहेको छ । तर अब त्यत्तिले मात्र हुँदैन । क्रिकेटमार्फत खेलाडीहरुले नेपाललाई विश्वमा चिनाइरहेका छन् । तसर्थ सरकारले यो खेलमा दीर्घकालीन लगानी गर्न सक्नुपर्छ । एसोसिएट राष्ट्रमा सबैभन्दा बढी क्रिकेटका दर्शक भएको देश नेपाल हो । तर त्यही देशमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान छैन । यो अत्यन्त लाजमर्दो कुरा हो । एउटै भएको त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा दर्शकले रुखमा चढेर, कोही भुइँमा पलेंटी कसेर बस्नुपर्छ । र पनि दर्शकको उल्लेखी सहभागीताले खेलाडलीलाई थप उर्जा प्रदान गरेको छ । यही उर्जाका कारण पनि खेलाडीले राम्रो खेल प्रर्दशन गर्न सफल भए । यसर्थ सम्पूर्ण नेपाली खेलाडीहरुलाई बधाई र आगामी खेल यात्राको शुभकामना !

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update