Shittalpati
आरोप, प्रत्यारोपको संस्कृति

राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज एक संस्कार नै बनेको छ । पार्टी भित्रै होस् वा एक अर्कोका दलहरुबिच नै किन नहोस् प्रायः आरोप, प्रत्यारोपमै समय बेतित गरेको पाइन्छ । यो संस्कार विगतदेखि नै राजनीतिक दलहरुमा मौलाउँदै गएको छ । पछिल्ला केही घटना क्रम पनि आरोप, प्रत्यारोप कै कारण भएका हुन् । अहिले पुरानो गठबन्धन टुटेर नयाँ बनेको छ । पुरानो गठबन्धन टुट्नुमा नेपाली काँग्रेसका केही नेतृत्वको कमजोरी रहेको नेताहरुले आरोप लगाएका छन् । काँग्रेस भित्रकै नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको आरोप लगाए भने गठबन्धनकै सहयात्री दल नेकपा एकिकृत समावादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो गठबन्धन भत्काउनमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवार ठहराएका छन् । नेपालले मात्र होइन अन्य दलका नेता र कार्यकताहरुको समेत उनीहरुकै कारण गठबन्धन टुट्न पुगेको विश्लेषण छ ।

गठबन्धन टुटेको र मुखमा आएको सत्ता गुमाएको विषयलाई लिएर अहिले काँग्रेसभित्र आरोप प्रत्यारोप सुरु भएको छ । विशेष गरी महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सभापति देउवालाई गालीगलौज गरेका छन् । उनीहरु आफै पनि नेतृत्व तहमा रहे पनि देउवालाई मात्र आरोप लगाउनुु दुखद् हो । गठबन्धन टुट्नुको संस्थागत जिम्मेवारी उनीहरुले पनि लिनुुपर्छ । यसमा देउवालाई मात्र दोष दिनुभन्दा संस्थागत रुपमा सबै नेताहरुले लिनै पर्छ । सुरुमा प्रधानमन्त्री र राष्ट्रपति काँग्रेसले नै लिनुपर्ने दवाब पार्टी सभापति देउवालाई नै उनीहरुले दिएका थिए । यस कारण पनि यो जिम्मेवारी उनीहरुले पनि लिनुपर्छ । आरोप आरोपकै लागि सोच्दा यसले राजनीति गर्नेलाई कुनै पनि दिन घाटा पर्न सक्छ । अब सच्चिएर जानको लागि यो उनीहरूलाई एउटा महत्वपूर्ण अवसर पनि हो । यसर्थ जे हुनुु भइहाल्यो अब एक अर्कोमा आरोप प्रत्यारोप लगाएर बस्नु भन्दा काँग्रेस आफुलाई सशक्त प्रतिपक्षको रुपमा लैजानुपर्छ भने सत्तामा पुगेका दलहरुले जनताको भावनालाई आत्मसाथ गरेर काम गर्नु अहिलेका लागि हित हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update