Shittalpati
टोपी दिवसको सन्दर्भ

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । नेपाली टोपीको प्रयोग विश्वभर फैलाउने उद्देश्यले दिवस मनाउनुुलाई सकारात्मक रुपमा लिनुपर्छ । तर आफ्नो संस्कृतिलाई विर्सेर अंगे्रजी नयाँ वर्ष मनाइनुु चाहि गलत हो ।

नेपालमा पश्चिमा संस्कृतिको प्रभाव अचाक्ली बढेको छ । आफ्नो मौलिक संस्कृति र सभ्यतालाई भुलेर पश्चिमा संस्कृतिमा रमाउने प्रवृत्तिले नेपाली समाजलाई पनि नराम्रोसँग गाजेको छ । पछिल्लो समय क्रिसमस वा अंग्रेजी वर्ष मनाउन मरिहत्ते गर्ने नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएको प्रमाण हो, नेपाली नयाँ वर्षलाई महत्व नदिनु । तर, पछिल्लो समय अँग्रेजी नयाँ वर्षकै दिन नेपालीहरुले टोपी तथा पोसाक दिवस मनाउन थालेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नकै लागि भए पनि टोपी दिवस मनाउने युवा जमात बढिरहेको छ, यसलाई सकारात्मक नै मान्नुपर्छ । नेपाली ढाकाटोपी हाम्रो सान र मान पनि हो । नेपालीपन झल्कने पहिचान पनि ढाकाटोपीले दिन्छ । ढाकाटोपी लगाएर हिँड्दा नेपाली हुँ भन्ने छुट्टै गर्वानुभूति हुन्छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा टोपी लगाएर र्‍याली निकाल्दै छन् । पुराना पाका पुस्ताहरुमा सिमित रहेको ढाका टोपी पछिल्लो समय केही नयाँ पुस्ताका युवाहरुले समेत लगाउन थालेका छन् । यो ढाका टोपी दिवसको प्रभाव हो भन्दा फरक पर्दैन । दिवसले आफ्नो संस्कृति तथा संस्कारको संरक्षण गर्नमा ठूलो योगदान पुुर्‍याएको छ । सर्वोच्च शिखर सगरमाथा जस्तै स्वाभिमानी र अडिग छौं भनेर गर्व गर्न हरेक नेपालीले शिरमा ढाका टोपी लगाउनैपर्छ । टोपी दिवसमा मात्र होइन सधैँभरी टोपी लगाएर नेपालीपन झल्काउन सके मात्र टोपी दिवसले सार्थकता पाउन सक्छ । यसतर्फ सबैले सोच्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update