Shittalpati
पुस १५ र ल्होसार

नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाज अनुसार फरक–फरक ढंगले मनाइन्छ । महिनैपिच्छे कुनै न कुनै समुदायको चाडपर्व पर्ने गर्दछ । सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ । प्रत्येक चाडपर्वको उद्देश्य फरक–फरक छ । जसरी भौगोलिक रुपमा विविधतायुक्त रहन्छ त्यसैगरी संस्कृतिमा पनि विविधतायुक्त रहने गर्दछ । पुस १५ विशेष दिनका रुपमा परिचित छ । आजकै दिन तमु ल्होसार पनि पर्छ । यो गुरुङ जातिको महान चाड पनि हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । यो पर्व कुनै राजनीतिक र धार्मिक घटनासँग जोडिएको पर्व होइन । यो केवल प्रकृतिसँग सम्बन्धित पर्व हो । गुरुङ समुदायले विशेष गरी पुसे १५ लाई नयाँ वर्षको रूपमा मनाउँछन् । यो एक साझा पर्व हो । यसको अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ ।

त्यस्तै पुस १५ अन्य समुदायमा पनि विशेष रहने गर्दछ । पुस १५ मा खाजा खाने प्रचलन रहेको छ । घरपरिवारमा मिठो मसिनो खाने, साथीभासँंग वनभोज जाने प्रचलन देखिन्छ । यसैगरी मगर युवा–युवतीहरूले पुस १५ को दिनमा खुवा खाएर आफ्नो जीवनसाथी रोज्छन् । गुरुङहरूले दिन लामो हुँदै जाने पुस पन्ध्रलाई नयाँ वर्ष मान्छन् । नेपालीहरूको चाडपर्वको तिथिमिति र गते एउटै हुन्छ । त्यसलाई मान्ने तरिका मात्रै आ–आफ्नै खालका हुन्छन् । यसलाई तिब्बती भाषामा लोसार भनिन्छ । ‘लो’ भनेको वर्ष र ‘सार’ भनेको नयाँ हो । यही ल्होसारलाई नेपालका थकाली तामाङ र गुरुङले ल्होछार भन्छन् । ‘ल्हो’ बाट ‘लो’ र ‘सार’बाट ‘छार’ भएको छ । लोसार तिब्बती भाषाको शब्द हो र ल्होछार चाहिँ गुरुङ भाषाको शब्द हो । पहाडी समुदायमा पुसे १५ लाई पर्वकै रूपमा लिने गरिएको पाइन्छ । यस्ता पर्वहरूले आम नेपालीलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्छन् । यसर्थ आज परेको पुस १५ र ल्होसार पर्वले धार्मिक सहिष्णुता, एकता र बन्धुत्व कायम गर्न सकोस् सबैमा शुभकामना !

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update