Shittalpati
अब जनतालाई नझुक्याइयोस्

अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो । विशेष गरी नेपाली काँगे्रस, नेकपा माओवादी, एकिकृत समाजवादी दलहरुले गठबन्धन गरेर निर्वाचन लडे र गठबन्धनकै सरकार बनाई देशमा स्थिरता र समृद्धि ल्याउने आश्वासनका साथ जनतासँग भोट मागे । तर सरकार गठनका बेला भने अन्यथा सहमति गर्ने जुन काम भयो, त्यसले कसैले राजनीतिक इमान्दारीका लागि गफ दिनुको अर्थ देखिएन । हिजोसम्म एक अर्कोसँग जसरी झगडा गरिरहेका थिए, अर्काे पक्षसँग गाला जोडिरहेका थिए । तर, रातारात चुनावअघिको गठबन्धन टुट्यो । चुनावपछि नयाँ सत्ता गठबन्धन बनेको छ । यो नेपालको सन्दर्भमा कुनै नौलो भने होइन, यस्ता दृश्य बेला बेलामा देखिने गरेका छन् । तर कम्तीमा पनि जनतासँग गरेका वाचाहरुलाई भने कुठारघात गर्नु हुँदैन थियो । हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रघाती भन्दै काँग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्र एकाएक उनै केपी ओलीसँग मिलेर प्रधानमन्त्री बने । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेकका सात दल मिलेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका छन् । पहिलो शक्ति नेपाली काँंग्रेस प्रमुख विपक्षमा पुगेको छ ।

केपी ओलीले दाहाललाई र दाहालले केपी ओलीलाई सार्वजनिक रूपमा गाली गरेका भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यसले राजनीति ‘लाज नमान्ने नीति’ अर्थात् ‘लाजनीति’ मा परिणत भएको विश्लेषण गर्न थालिएको छ । सत्ताका लागि जस्तोसुकै सहमति र समझदारी गर्न सक्ने र कुनै लाज नभएकाहरूका हातमा सत्ता पुग्दा तिनले गर्ने कर्म कस्तो होला ? के यस्तो सरकारले राजनीतिक र प्रशासनिक स्थायित्व देला, जोसँग एक–आपसलाई गाली गरेका दस्तावेजहरु मात्रै छन् र सैद्धान्तिक आधार कत्ति पनि छैन । हिजो एक अर्कालाई देखी नसहनेहरु र चरम भ्रष्टाचारीका रूपमा व्याख्या गरिएका एकले अर्कालाई सत्तामा पुग्नका लागि सबै बिर्सिए । करिब दुई तिहाइ मत प्राप्त गरेर सरकार चलाउन नसकेर मुलुकलाई राजनीतिक अस्थिरताको अवस्थामा लगेको एमालेसँग माओवादी पुनः मिल्नु नेपाली राजनीतिको दुर्भाग्य बनेको छ । गठबन्धन गर्दैमा राजनीतिक स्थिरता नहुने यसले प्रष्ट देखाएको छ । यसर्थ अब जनतालाई कुनै आश्वासन चाहिएको छैन, उनीहरुलाई गरिखान दिए पुग्छ । ठूला–ठूला दर्शन र सिद्धान्तका आकर्षण देखाएर जनतालाई ढाँटेर भोट माग्ने काम अब सबैले बन्द गर्नुपर्छ । जनताको अब एउटै अपेक्षा छ ‘कम्तीमा अब योभन्दा बढी नझुक्याइयोस् !’

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update