Shittalpati
स्ववियु चुनावमा विलम्ब नगरौं

हरेक दुई/दुुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डरमा रहेको स्ववियु निर्वाचन मिति जब आउन्छ तब मात्र निर्वाचनको चर्चा चल्ने गर्दछ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको छ । अहिले पनि त्रिविको कार्यतालिका अनुसार निर्वाचन मिति नजिकिदै गर्दा स्ववियुको चुनाव हुने हल्ला चलेको छ । स्ववियु चुनाव गराउनेबारे अनौपचारिक रुपमा आन्तरिक छलफलमा रहेको त्रिविले केही दिनअघि डिनहरूसँग परामर्श गरेको छ । उसले फागुुन २८ गते स्ववियुको चुनाव गर्ने तयारीमा जुटेको समाचार बाहिरिएको छ । तर त्रिविले विद्यार्थी नेताहरुलाई छलफलका लागि अहिलेसम्म औपचारिक तथा अनौपचारिक रुपमा बोलाएको भने छैन । त्रिविले निर्वाचन गराउन थालेको पहल सकारात्मक भए पनि आशंक भने कायमै छ । विगतमा पनि यस्ता तयारी त्रिविले नगरेको भने होइन । अहिले पनि यस्तै चर्चा मात्र हुने त होइन भन्ने आशंक आम विद्यार्थी वर्गमा छ । त्रिविका पदाधिकारीहरु स्ववियुलाई कमजोर बनाउनको लागि अनेक गतिविधि गर्ने गरेको र उनीहरुको भित्रि मनसाय विश्वविद्यालयलाई निजीकरण गराउने उद्देश्यले स्ववियु निर्वाचन हुन नदिइरहेको विद्यार्थी संगठनहरुको आरोप छ । त्यो गलत सावित गर्न पनि त्रिविले अहिले चुनाव गराउनै पर्छ ।

राजनीतिको चर्को दबाबमा पर्ने गरेको त्रिवि कहिले आन्दोलनका कारण त कहिले शैक्षिक अनुशासनहीनताका कारण शिक्षा नै प्रभावित भइरहेको बेलामा लामो समयसम्म स्ववियुको चुनाव नहुँदा झन् अस्तव्यस्त अवस्थामा पुगेको देखिन्छ । नियमितरुपमा शैक्षिक क्यालेण्डर अनुसार न पढाइ नै सुचारू भएको देखिन्छ, न समयमै हुनुपर्ने परीक्षाले पनि बेलैमा निकास पाउँछ । परीक्षा भैहालेको खण्डमा पनि त्यसको नतिजा आउने/नआउने ठेगान हुँदैन । त्रिविमा शैक्षिक माफियाको बिगबिगीका कारण शिक्षाको गुणस्तरमात्रै घटेको नभएर कयौं विद्यार्थी विदेश पलायनसमेत भैरहेका छन् । विद्यार्थीका नाममा अराजक गतिविधि हुनु त्रिविको नियति नै बनिरहेको छ । स्ववियुविहीन भैरहेको त्रिविका समस्याहरु यीमात्रै होइनन् । ठीक समयमा ठीक तरिकाले समस्या र मुद्दाहरुलाई सम्बोधन गर्न पनि स्ववियु चुनावको अपरिहार्यता यतिखेर बढ्दै गएको छ । स्ववियुको निर्वाचन नहुँदा राजनीतिमा जाने योग्य नेतृत्व समेत तयार गर्नमा समस्या भइरहेको छ । अहिले जत्ति पनि ठूला नेताहरु छन् ती सबै विद्यार्थी राजनीतिबाट स्थापित भएका व्यक्तित्वहरु हुन् । त्यसैले स्ववियुको चुनाव नहुनु भनेको योग्य नेतृत्व तयार नगर्नु पनि हो । यसर्थ अब जुनसुकै हालतमा पनि स्ववियु चुनाव हुनैपर्छ, यसमा विलम्ब नगरौं ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update