Shittalpati
समानुपातिक समावेशीको अपमान

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छ । दलहरुले समानुपातिक समावेशीतर्फका सांसदहरुको नामवली सिफारिस गरेका छन् । उनीहरुले समानुपातिक समावेशीको मर्म विपरित सांसदहरुको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले पुनः सच्याएर पठाउन भनेको छ । आयोगले दुई दिनको समय दिएर आइतबार सिफारिस सच्याउन भनेको हो । पेस भएका मध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि मात्र आयोगले निर्वाचित भएको घोषणा गर्नेछ । तर दलहरुले मनपरीरुपमा समावेशी सांसदहरु सिफारिस गरेपछि समानुपातिकको मर्म माथि प्रहार भएको छ ।

पछिल्लो जातजाति, धर्म, लिङ्ग, भौगोलिक क्षेत्र जो प्रत्यक्ष निर्वाचनमा समेटिन सक्तैनन्, उनीहरुलाई अवसर दिनका लागि राखिएको समानुपातिक समावेशी प्रावधानको दलहरुले धज्जी उडाएका छन् । अहिले यो प्रणाली उनीहरुको कमाइखाने भाँडो भएको छ । श्रीमान् राजनीतिक दलको नेता भए श्रीमती समावेशी सांसद, दललाई ठूलो रकम चन्दा दिने उद्योगपति वा बैंकसञ्चालक जनप्रतिनिधि, खसआर्य, आदिवासी जनजाति, पिछडा वर्ग, मुस्लिम, दलित, थारु, मधेशी क्षेत्रबाट छानिएका समावेशी सांसदको हैसियत हेर्दा अवसर नपाएको वर्गको प्रतिनिधित्व हुनसकेको देखिन्न । राजनीतिक दलका अध्यक्षलाई खुसी बनाउनसक्ने व्यक्तिले मात्र त्यो अवसर पाएको देखिन्छ । अहिले पनि यो क्रम दोहोरिएको छ । जबदेखि नेपालमा समानुपातिक प्रणाली लागू भयो उही बेलादेखि प्रमुख पार्टीका शीर्ष नेताहरूले गति छाड्दै आएका थिए र अहिलेसम्म पनि यहीक्रम जारी छ । यो अत्यन्त दुखको कुरा हो । अवसर नपाएको क्षेत्रबाट प्रतिनिधित्व गराउनु नै समावेशिताको मर्म हो भन्ने सत्यलाई राजनीतिक परिवर्तनका बाहक मानिएका दलहरुले नै ख्याल नगर्नु दुर्भाग्यपूर्ण छ । आगामी दिनमा समावेशिताको ख्याल नगर्ने दलहरु समस्यामा पर्ने निश्चित छ । यसर्थ समानुपातिक शब्दकै अपमान हुनेगरी दलका नेताले गरेको गल्ती आगामी दिनमा सच्याउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update