Shittalpati
अब हाम्रो प्राथमिकता

मुलुकको राजनैतिक वृतमा आवधिक निर्वाचन पछि नयाँ–नयाँ प्रयोगहरु शुरु हुने कुरा अनौठा होइनन् । मंसिर ४ को निर्वाचन पछि प्राप्त परिणामले स्थिर र एकल सरकारको सम्भावना अत्यान्तै न्यून देखियो । सरकार बनाउने अनि गिराउँने खेलको सुरुवातका लागि अहिलेको मतपरिणामले बाटो खुल्ला गरेको अनुभूति हुन थालेको छ । नेपाली काँग्रेस, एमाले र अरु दलहरु बीचको सरकार निर्माण गर्नका लागि तयारी गरिएका सबै सहकार्यहरु अहिले गर्भमै छन् । प्रत्यक्ष तर्फ सबै भन्दा बढी सिट जित्दै गरेको नेपाली काँग्रेसभित्र पुस्ता हस्तान्तरणको युगान्तकारी कदमले सत्ताको अब बन्ने सरकारको आकार र प्रकारलाई खुकुलो र खुम्चिलो के बनाउने हो भन्ने चर्चाका बीच नयाँ बन्ने सरकारमा गठवन्धनको एकता कायम हुन्छ या हँुदैन भन्ने कुरा पनि त्यही पेरीफेरिमा घुमिरहेको आभास हुन्छ । एमालेभित्र सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषय कम पेचिलो भइरहदा सत्ता गठवन्धनका बीच दिन प्रतिदिन पेचिलो बन्दै गएको देखिन्छ । विरासतको राजनीतिमा विश्वास गर्नेहरु काँग्रेसका युवा नेता प्रति कम भरोसा गर्दै गर्दा कतै मुलुकले खोजेको नेतृत्व गुम्ने त होइन भन्ने चिन्ता पनि त्यतिकै देखिन्छ ।

गगन र विश्वप्रकाश अनि एमालेका संसदीय दलका नेता बन्न तयार केपी ओली विचको प्रतिस्पर्धात्कम दौड कहाँ पुगेर अन्त्य हुने हो भन्ने चिन्ता अनि रवि र केही नयाँ अनुहारका महत्वकाँक्षी विश्वासलाई कुन स्टेशनमा लगेर पार्किग गर्ने हो भन्ने तर्फ कसैको पनि ध्यान जान सकेको छैन । कतिपय सांसदहरु सेलिब्रेटीका रुपमा आफुलाई अग्रपंक्तीमा खडा गर्न आतुर छन् भने कतिपयका लागि चुनावका बेला दिएका आश्वासनहरु कुन रुपमा पुरा गर्ने भन्ने चिन्ता र चासो पनि भएको देखिन्छ । यो पटकको संसदले कतिपय नयाँ अनुहारका लागि ढोका खोले जस्तै सरकारको नेतृत्वका लागि पनि नयाँ र युवा अनुहारकै खोजी बढिरहेको छ । त्यसकारण यदि काँग्रेसको नेतृत्वमा सरकार बन्छ भने गगन जस्ता उत्साही र केही गरांै भन्ने हुटहुटी भएका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडी बढाउँदा मुलुकले कोल्टे फेर्ने थियो । अन्यथा हामी र हाम्रो पुस्ताले नयाँ नेपालको परिकल्पना गरेको कुनै अर्थ रहदैन । यही नै हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update