Shittalpati
गाउँमा पहिलो पटक बिजुली पुगेपछि...

सुशीला रेग्मी (रासस)
रामपुर (पाल्पा), निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् ।

घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उनको १४ वर्षपछि भए पनि विद्युत सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । ‘बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो’, उनले भने, ‘अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।’ रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताए ।

उनका अनुसार विद्युत सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युतको प्रक्रिया अगाडि बढाइएको छ । ‘निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नु लगायत विविध कारणले विद्युत विस्तारको काममा ढिलाइ हुन पुग्यो’, उनले भने । विद्युत सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतित गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठन–पाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठन–पाठनमा राहत पुगेको छ ।

सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत लाइनको सुविधाले धेरै राहत मिल्ने छ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउने छन् । विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौँधाँै हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकता अनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ । लामेदमार ट्रान्समिटर अन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसकिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ ।

निस्दीका केही गाउँमा चार वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत पोल पनि पुग्न नसकिएको अवस्था छ । निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पु¥याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको छ । संस्था मार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update