Shittalpati
लागूऔषध दुर्व्यसन  नियन्त्रणमा ध्यान देऊ

पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ । लागू पदार्थ दुव्र्यसनको प्रभावबाट प्रत्यक्षरुपमा नागरिकहरु नै अहिले असुरक्षित बन्दै गइरहेका छन् । लागूपदार्थले शरीरलाई कमजोर बनाउने मात्रै नभई दिमागी रुपमा समेत त्यसको नकारात्मक प्रभाव पर्ने हुनाले देशले खोजेजस्तो स्वस्थ जनशक्तिको सधैं अभाव देखिइरहनु विडम्बनापूर्ण स्थिति हो । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै खतरा पैदा गर्छ । यो मादकपदार्थ भन्दा दसौं गुणा हानिकारक हुन्छ । लागूऔषध दुव्यर्सन बढ्नुको मुख्य कारण भनेको मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो । यही कारण नै विद्यालय तथा कलेजका विद्यार्थी दुव्र्यसनीमा फस्ने गरेको पाइएको छ ।

एकातिर हाम्रो समाजको परिवारमा धैर्यता, मेलमिलाप, सुमधुर सम्बन्ध घट्दै गइरहेको अवस्था छ । अर्कातिर बुबा–आमाकै कारण थुप्रै बालबालिका तथा किशोर–किशोरीहरू विकृतिमा डुब्दै गइरहेका छन् । यसबाट समयमै बच्न पारिवारिक भावना बढाएर आफ्ना बालबालिकाको निगरानी राख्न आवश्यक छ । मुलुकमा १० प्रतिश लागूऔषधकै कारण अपराधहरु घट्ने गरेका छन् । बाहिर खुलेर कम देखिएपनि भित्रभित्रै त्यसको अवैध कारोबार भयावहरुपमा विकसित भइरहेको विभिन्न घटनाक्रमहरुले समेत देखाइरहेका छन् । लागूपदार्थबाट मुक्त समाजको परिकल्पना अहिलेको सोच हुनुपथ्र्यो, तर त्यसप्रति कसैको पनि ध्यान गएको छैन । अवैध कारोबार गर्ने कारोबारीहरुलाई कठोर सजायको प्रावधान नराखी लागू पदार्थको ओसारपसार र विक्री वितरण नियन्त्रण असम्भव छ । यसर्थ सरकारले लागूऔषध दुरूपयोग तथा ओसारपसार गर्नेहरुलाई कानुनी दायरामा ल्याउन कडा कानुनको प्रवधान बनाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update