Shittalpati
ऋषि पञ्चमी र यसको महत्व

हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो । तिज नेपाली जनजीवनमा विशिष्ट मौलिकता बोकेको महत्वपूर्ण चाड हो । तिज कहिलेदेखि मान्न थालिएको हो भन्ने कुनै तथ्य प्रमाण नभए पनि यससँग धार्मिक पौराणिक प्रसंगहरु जोडिएका छन् । नेपाली हिन्दु महिलाहरुले तिजको दोस्रो दिन व्रत बसी तेस्रो दिन आज ऋषिपञ्चमीको पूजा गर्दैछन् । यसदिन बिहान सबेरै नजिकको नदी, खोला पोखरी वा तलाउमा गई ३ सय ६५ वटा दत्तिवन चपाउने, तल्लो अंगमा माटोको लेपन लगाउने र नुहाइधुवाइ गरी शुद्ध भई देवालय, सार्वजनिक स्थल वा कसैको घरआँगनमा जम्मा भई पण्डित राखी सप्तर्षि–पत्नी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ)को पूजा गर्ने गर्दछन् ।

यो पूजा गर्नाले रजस्वला भएको बेलामा कसैसँग छोइएको भए त्यो पापबाट मुक्त भइने विश्वास गरिन्छ । भाद्र शुक्ल पञ्चमी तिथिका दिन मनाइने यो पर्वको छुट्टै ऐतिहासिक र धार्मिक महत्व रहेको छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रजोधर्ममा प्रवेश गराएकोले उनीहरू चौथो दिनसम्म अशुद्ध रहने मान्यता छ । यो व्रतको शुभारम्भ सत्ययुगदेखि नै भएको देखिन्छ । छुवाछूतको दोष मेटाउन स्त्री–पुरुष दुवैले व्रत बस्नुपर्ने भए तापनि विशेष रुपले महिलाहरूले मात्रै व्रत बस्ने प्रचलन चलिआएको छ । हुन त आजको समयमा रजश्वला भनेको प्राकृतिक प्रक्रिया हो र यसलाई छुवाछूतसँग तुलना गर्नु पाखण्डपन हो भन्ने आवाज पनि चलिरहेको छ । तर यसलाई नेपाली समाज र हिन्दु धर्मको दर्शनले त्यस्तो मान्दैन । हिन्दु दर्शनले रजश्वला भएको ४÷५ दिनसम्म छोइछितो गर्न नहुने बताउँछ । यति नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापकर्म छन्, तिबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमीको भूमिका महत्व रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update