Shittalpati
भड्किलो नबनोस् तिज

नेपाली महिलाहरुको महान पर्व तिज नेपालीका घरआँगनमा आएको छ । तिजका गीतहरु घर–घरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा–मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् । तिजको दिन निराहार व्रत बसेर पूजा गर्ने भएकाले अघिल्लो दिन राति दर खाने चलन छ । तिजको दिन महिलाहरू नाँचगाँन गर्दै शिवको पूजा गरेर निराहार व्रत बस्छन् । तर पछिल्लो समयमा आएर महिनौं अगाडिदेखि दिदीबहिनीहरू जम्मा भएर दर खाने संस्कृति बढ्दै गएको छ । तिजको आफ्नै मौलिकता छ । यो पर्वको शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ । महिला वर्गलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने प्रवृति आज पनि हट्न सकेको छैन ।

विगतमा त झन् महिला कुवाको भ्यागुतो समान थिए । तिज पर्वकै बेला मात्र माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने प्रचलन प्राचीन समाजमा व्याप्त थियो । वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँदाको खुशीमा उन्मुक्त भएर नाच्न पाउँदा उनीहरू आफ्ना पीर, व्यथा सबै चटक्कै भुल्दथे । आज समयसँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दैछन् । यो आफैमा राम्रो हो । तर पर्वको नाममा जथाभावी फ्डकिलो बन्दै जानु भने दुखद् हो । तिजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ । तिजमा आएको विकृति र भड्किलो फेसनले ‘हुँदाखाने’ महिलाहरुले तिज मनाउन नसकिरहेको स्थिति छ । केही वर्ष अघिसम्म तिजलाई महिलाहरुले आफ्ना पीर, व्यथा, वेदना अनि सुख दुःखलाई गीत संगितका माध्यमबाट अभिव्यक्त गर्थे । तिजका गीतहरुमा महिलाहरु एकत्रित भएर नाच्थे । एकआपसमा गाउँथे । तर अहिले त्यस्ता गीत सुन्न पाईंदैनन् । समयक्रमसँगै तिजको सँस्कृति विकृतिमा परिणत भएको छ । तिजका गीतहरु रत्यौली र झ्याउरे जस्ता भएका छन् । यसो हुनु गलत हो । तिज समानताको तिज बन्न सकोस् ता की गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो, ढिकी जाँतो र मेलापात गर्ने नारीको पनि तिज बन्न सकोस्, तडक भडक र भड्किलो होइन, सभ्य, सरल र संस्कृतीको तिज बन्न सकोस् । भड्किलो तिज हामी सबैका लागि हानिकारक छ । हरितालिका तिजका अवसरमा आमा, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update