Shittalpati
युवा नेतृत्व आवश्यक

देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा नेतृत्वको आवश्यकता र औचित्यमाथि बहस भइरहेको छ । यसलाई सुखद मान्नुपर्छ । हुन त, यस्तो बहस पहिले पनि नभएको होइन, धेरैपटक युवाले देशको नेतृत्व गर्नुपर्छ भन्नेबारेमा बहस भएको छ । तर पनि पछिल्लो केही दशकयता लगातार हाम्रो मुलुकमा ६० कटेका मानिसहरुले नेतृत्व गरिरहेका छन् ।

यो सन्दर्भमा युवा नेतृत्वको बहस चल्नु र युवाहरु नेतृत्वमा आउन इच्छा प्रकट गर्नु राम्रै हो । वृद्ध पुस्तालाई स–सम्मानका साथ बिदा गरौं भन्ने आवाज अहिले सामाजिक सञ्जालदेखि चिया पसलहरुहरुमा सुन्ने गरिएको छ । यसले जनताहरु बूढा भएका व्यक्तिहरुको नेतृत्वबाट आजित छन् भन्ने कुराको झलक पनि हो । यसलाई स्वाभविक मान्नुपर्छ । युवाहरूले पनि पुरानो पुस्तालाई सम्मानका साथ अभिभावक बनाएर आफू नेतृत्वमा आउन हिम्मत गर्नुपर्छ । केही युवाहरु नेतृत्वमा आउन हिम्मत नगरेका पनि होइनन् । तर एकपटक नेतृत्वमा पुगेपछि अरूलाई पद सुम्पनै नचाहने खराब प्रवृत्तिका कारण युवाहरु नेतृत्वमा पुग्न नसकेका हुन् ।

पछिल्लो समय युवा पंक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न आतुर छ । तर, राजनीतिक दलका नेतृत्वहरु भने युवा उम्मेदवारका विषयमा अनुदार देखिन्छन् । बरु उनीहरु एकोहोरो भाषण कलाले आकर्षित गर्नमै तल्लीन देखिन्छन् । विगतदेखिकै यो बानी पुनरावृत्ति भइरहेको छ । यसले गर्दा युवा खुम्चिनु पर्ने परिस्थिति छ । वास्तवमा इतिहास रच्ने युवा उमेरमै हो । अहिले राजनीतिको शीर्ष तहका नेताले पनि युवा उमेरमै राजनीति बदल्न अहम् भूमिका खेलेकै हुन । यो तथ्य शीर्ष तहका नेताहरूले स्मरण गर्न जरुरी छ । अहिले देशले युवा नेतृत्व खोजेको छ । पुराना नेतृत्व सबै परीक्षित भइसकेका हुन् । तिनबाट योजनाबद्ध काम हुने अपेक्षा गर्नै सकिँदैन । साथै, नयाँ काम पनि हुने अपेक्षा छैन । सत्तामा किन बस्ने भन्ने कुराको समेत चित्तबुझ्दो जवाफ छैन । न कुनै योजना छ न त आफूले गर्ने कामको रोडम्याप नै । अहिले देखिएका कैयन् नेता स्वास्थ्यका कारणले पनि कमजोर भइसकेका छन् । तसर्थ आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update