Shittalpati
पिताको सम्मान र आशीर्वाद

पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको रुपमा पनि लिइन्छ । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । जन्मदिने आमा, कर्म दिने बुबा शिक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । आज कसुे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन हो । यस दिन बाबुको सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ । आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम बनाउने बाबुआमालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य पनि हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न ओइरिन्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन ।

पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । एकदिन मुख हेरेर वा मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । जीवित हुँदा मातापिताको अनुकुलको कार्य गर्ने, आफ्नो क्षमताअनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गर्नुपर्छ । यसो गर्न सके मात्र पिताप्रति सच्चा सम्मान गरेको ठहर छ र उनीहरुको आशीर्वादले पुस्तौसम्म राम्रो हुन्छ । यस धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन । तसर्थ पिताको सम्मान र आशीर्वाद लिने काम गरौं, त्यसैमा सबैको भलो हुनेछ ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update