Shittalpati
प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी

मदन देउराली
तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकरणका लागि प्रस्तावित मास्टर प्लान भर्खरै सार्वजनिक गरेको छ । हुन त पूर्ववर्ती स्थानीय सरकारले पनि मास्टर प्लान बनाएर काठमाडौंको एउटा संस्थालाई २० वर्षे लिजमा दिएको भन्ने कुरा पनि नआएका होइनन् । तर अहिले स्थानीय सरकारले श्रीनगरको व्यवस्थानपन आफै गर्ने कुराहरु मिडियाहरुमा आए । यो आफैमा राम्रो कुरा हो । तर प्राकृतिक सुन्दरताले भरिपूर्ण भएता पनि यसमा अझ केही कृतिम संरचनाहरुको अभाव भने खड्कीएको धेरैले महशुस गरेका छन् । तानसेन आफैमा ऐतिहासिक र सुन्दर छ । यहाँ आउने जो कोहीले पनि तानसेनमा ऐतिहासिक स्थानहरुको तस्वीर क्यामारमा कैद नगरी जाँदैन । उनीहरुले सुन्दर तानसेनको वर्णन गर्दै यहाँ तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट समेत गर्दछन् ।

तानसेनलाई जसरी सुन्दरताको उपमा दिइएको हुन्छ तर त्यो साच्चिकै त्यस्तो छैन । मेची–महाकालीदेखि शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरु, अन्य आन्तरिक पर्यटकहरु तानसेन बजारमा टन्नै देखिन्छन । तर आजकाल बाह्य पर्यटकहरु कम मात्रामा तानसेन आउँछन् । यहाँ दशैं पछि भ्रमणमा आउनेहरुको लर्को देखिन्छ । तर यहाँ आउने पर्यटकहरुलाई केही समय टिकाउन सकिएको छैन । भ्रमणमा आउनेहरुलाई कमसेकम दुई चार दिन भए पनि तानसेनमा राख्न सक्ने हो भने यहाँको व्यसायलाई केही भए पनि टेवा पुग्ने थियो ।तर यसतर्फ कसैको ध्यान जान सकेको छैन । तानसेनमा थुप्रै ऐतिहासिक संरचनाहरु छन् । तर भएका संरचनाहरु जिर्ण छन् भने नयाँ संरचनाहरु बनाउनै सकिएको छैन । कम्तीमा पनि यहाँ आउने पर्यटकहरु भुलाउनका लागि संरचनाहरु बन्नु आवश्यक छ । हामीले देख्ने गरेका छौं पोखरामा प्रसस्त संरचनाहरु छन् । जसले गर्दा त्यहाँ पुग्ने पर्यटकहरु दुई/चारदिन भुल्ने गर्छन् । तर तानसेनमा पर्यटकहरुलाई दुईचार दिनसम्म राख्न सक्ने वातावरण बनाउने दिशामा कसैको पनि चासो छैन ।

अहिले जुन श्रीनगरको प्रस्तावित मास्टर प्लान नगरपालिकाले सार्वजनिक गरेको छ । त्यो प्लान राम्रो छ तर पनि सामाजिक सञ्जालहरुमा यस विषयमा धेरैले टिका टिप्पणीहरु ग्र्ने गरेका छन् । जुन केही सकारात्मक छन् भने केही नकारात्मक पनि छन् । हुन त आजकाल आफ्नो विचार वा आफुलाई लागेका कुरा राख्न फेसबुक एउटा शसक्त माध्यम पनि बनेको छ । यस्ता आलोचना वा सुझाव आवश्यक पनि छ जसले ठीक वा बेठिक केलाउन सहयोगी हुन सक्छ । फेसबुकमा भएका नकारात्मक पक्षलाई केलाउने हो भने पनि धेरैले आवश्यक संरचनाकै कुरालाई जोड दिएका छन् । उनीहरुले तानसेनमा पानीको समस्या, बाटोको समस्यामा बढी जोड दिएको पाइन्छ । पहिला बाटो बन्नु पर्‍यो, तानसेनमा पानी प्रसस्त हुनु पर्‍यो भन्ने कतिको विचार छ । कतिले भिडियो हेरेर चित्त बुझाउने पनि भनेका छन् । कसैले अमेरिकन हतियार राख्ने ठाउँ रे, डिजाइन राम्रो भएन, स्वीमि· पुल चाहियो, अपा· मैत्री बनाउनुपर्ने, हुँदा खाँदाको ठाउँ विगार्ने, बोटानिष्टसँग सल्लाह गरेर हरेक विरुवा, फूलहरुको नामाकरण गर्ने, उँट ठीक भएन बरु चरा चुरुंगी बनाउने, चट्पटे पसल हुनु पर्ने, सपना देखाएको, आदि–आदि के के हो लेखेर साध्य नै नभएका कुराहरु त्यसमा देखिन्छ । कति ले त काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भनेर व्यंग्य समेत गरेका छन् । हुनत यो उनीहरुको विचार हो । हो हामीलाई सबै कुराको आवश्यक छ बाटो, पानी । यी त जीवनका लागि अपरिहार्य बस्तु हुन यसलाई नकार्न सकिदैन । तर के त्यतिले मात्र पर्यटनको बाटो खुल्छ त ? पर्यटकहरु के त्यो बाटो र पानी मात्र हेर्न आउने हो र ? एकातिर हामी तानसेनमा पर्यटन पर्यटन भनेर फलाक्दै छौं अनि केही नयाँ संरचना बनाउन थाल्यो भने खाली बाटो र पानीको कुरा मात्र निकालेर अल्झने हो भने नयाँ संरचना कहिले बन्ने अनि के देखाउन पर्यटकहरुलाई आकर्षण गर्ने ? पर्यटनको सकारात्मक पक्षलाई पनि केलाउने हो भने तानसेनमा अहिले थुप्रै सविधाजनक होटलहरु खुलेका छन् । पर्यटहरुलाई आवश्यक सुविधाहरु दिन सक्षम छन् तर पर्यटकहरुको आगमन छैन । होटलहरु पर्यटकहरुको अभावले समस्याग्रस्त भइरहेका छन् ।

आन्तरिक पर्यटकहरु आएता पनि एक दुई रात पनि बस्न चाहँदैन बस्दैनन् । आउँछन घुम्छन् जान्छन् । किनकी हामीसँग उनीहरुलाई भुलाउने संरचनाको कमी छ । भएका संरचना एकछिन घुमे सकिन्छ अनि के गर्ने ? सल्लाधारीको काखमा पूर्व पश्चिम लम्पसार भएको तानसेनको पहिलो नजरमा मस्त हुन्छन् पर्यटकहरु । विशाल टुँडिखेल, नगरपालिका अगाडि राखिएको विशाल करुवामा बसेर फोटो सेसन गर्नेहरुको ताँती लाग्छ । त्यसपछि भिमसेनटोल, नारायणटोल, असनटोल हुँदै शितलपाटी पुग्छन् । तत्कालिन पाल्पाका लागि तैनाथवाला जनरल खड्ग शमसेरले बनाएको शितलपाटी हेर्छन् नजिकै जनरल बाल नरसिंह राणाले निर्माण गरेको नेपालको सबभन्दा ठूलो मूलढोका हेर्छन् । फोटो सेसन गर्नेहरु पनि टन्नै हुन्छन् । मूलढोका भित्र अहिले गोरख वाटिकाको निशान भगवती मन्दिर विशाल करुवा, फूलबारीको सुन्दरतामा एकछिन रमाउँछन् र त्यसपछि जनरल प्रताप शमसेरले निर्माण गरेको सिंहदरबार टाइपको दरबार अवलोकन गर्छन् । दरबार अगाडि फोटो सेसन हुन्छ । हुनत अहिले उक्त दरवारमा पाल्पा संग्रहालय राखिएको छ जहाँ कोही भुल्छन् कोही जाँदैनन् । यति हो तानसेनमा भएका हेर्ने संरचनाहरु । मन्दिरहरुमा सितिमिति जाँदैनन् । गएता पनि दिनभरी बन्द रहने भएकाले पनि कोही जाँदैनन् । खै त अरु संरचनाहरु ? यी संरचना हेर्न यस्तै एक÷दुई घण्टा भए पुगी हाल्छ । त्यसपछि के गर्र्ने ? तानसेनको सेरोफेरोमा जाने उनीहरुको सेडयूलमा हुँदैनन् । नत्र रानीमहल जान्थे होला तर सेडयूलमा हुँदैन ।

अब श्रीनगरको सौन्र्दयीकरणका लागि बनाइएको प्रस्तावित मास्टर प्लान हेर्ने हो भने प्लान राम्रो छ तर के –के नपुगे जस्तो छ । त्यो मास्टर प्लानमा सुन्दर बाटाहरु लस्करै रोपिएका रुखहरु आदि आदि मात्र छन् । एकजना फेसबुककर्ताले दक्षिण भारततिरको हावापानीमा पाइने ति रुखहरु यो हावापानीमा उम्रन गाह्रो छ भन्ने पनि उल्लेख गरेका थिए । ठीक हो । हुन पनि तानसेनको हावापानीमा हुन सक्ने विरुवाहरु मात्र त्यहाँ हुनु आवश्यक छ । यो प्लान एउटा बगैंचा जस्तो मात्र भयो । यहाँ केही त्यस्तो संरचना हुनु पर्छ जसले गर्दा एकपटक श्रीनगर पुग्नै पर्छ भन्ने हुनु पर्छ  । आजकल जताततै विशाल भगवानका मूर्तिहरुको संरचना बनाएर पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । केही समय अगाडि डेकोर स्टुडियो प्रा लि, काठमाडौंले बनाएको मास्टर प्लानमा तथा गत भगवान बुद्धको ८० फुट अग्लो मूर्ति तथा ओम माने र सुन्दर बगैंचा डिजाइन अत्यन्त आकर्षक थियो । त्यस्तो एउटा संरचना यहाँ भएको भए बौद्ध धर्मावलम्बीहरुदेखि हिन्दू पर्यटकहरु टनाटन हुन्थ्यो होला । एकातिर सुन्दर बगैंचा अर्को तिर आकर्षक विशाल संरचना । अझ कति ठाउँहरुमा पानी जम्मा गरेर कृतिम ताल बनाएर पर्यटकहरुलाई मनोरंजन दिइ राखेको पनि देखिन्छ । पहिला समाजसेवी भुयुमान लिगलले विरेन्द्र ताल भनेर बर्षाको पानी जमा गरेर ताल बनाउन भनेर त्यत्रो मेहनत गरे तर अध्ययनको कमीले गर्दा तालको पानी अडिन सकेन । आजकाल यस्ता थुप्रै प्रविधिहरु छन् पानी अड्याउन सकिने बनाउन । सो भए कमसेकम त्यहाँ जाने पर्यटकहरु एकछिन भए पनि डुँगाको आनन्द लिन सक्छ । ंहेर्ने संरचनाहरु नभए केवल त्यो बगैंचा मात्र हेर्न कोही जानेवाला हुँदैनन् । केही समय अगाडि मैले यूरोपको दशवटा देश घुम्ने मौका पाएको थिए ।

हरेक देशमा पर्यटकहरुको घुँइचो देख्दा दंग परियो । किनकी यूरोपको जुन देशमा जुन ठाउँमा गए पनि टन्नै संरचनाहरु छन् ती बर्षौ पुरानो संरचनाहरु पनि भर्खर नयाँ बनाए जस्तै रंग रोगन गरी चिटिक्क पारिएको । जुन देशमा गए पनि संरचनाहरु हेरेर नभ्याइने जताततै पर्यटकहरुको भीड अनि पो पर्यटन । एकातिर जहाँ जान पनि यातायातको सुविधा अर्को तिर उनीहरुले मनले चाहेको खानेकुरा पाइने । जति पनि होटल रेष्टुरेण्ट सबै टनाटन । यस्तो पो पर्यटन । त्यसैले केवल पर्यटन भनेर मात्र हुँदैन त्यहाँ टन्नै हेर्ने संरचनाहरुका साथै आवश्यक पूर्वाधार हुनु आवश्यक छ । हुन त हाल श्रीनगरमा भएको एउटा सरचना भनेको टवारिवा (पानस) हो जुन पञ्चायतको रजत जयन्तिको उपलक्षमा बनाइएको थियो तर यो कसले बनाएको यसलाई के भनिन्छ कसैले भन्न सक्दैन । यो पानस बनाउने सिल्पकारहरु टक्सार कै वासिन्दाहरु हुन् । उहाँहरुको मिहेनतले यो बनेको हो जुन हेर्न लायकको को छ । अर्को भनेको करिव ३२ मिटरको भ्यू टावर जहाँबाट चारैतिर मजाले हेर्न सकिन्छ । अझ त्यहाँ टाढा हेर्न सकिने दुरविन राखिदिएको भए र त्यहाँबाट देखिने हिमालका नामहरु, उचाई सहित नेपाली अंगे्रजी भाषामा लेखि एउटा बोर्ड भित्र राखिदिएको भए सबैले थाहा पाउँथे । यो त मैले यूरोपमा देखेको । टाढा देखिने हिमालका उचाइ सहितका नामहरु अंग्रेजी र जर्मन भाषामा लेखिएको सिसाको बोर्ड भित्र राखिएको हुन्छ ।

श्रीनगरमा नै सेन राजा महादत्तसेनको भग्नावशेष दरवार पनि रहेको छ । त्यसलाई पनि सुरक्षित राख्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ होला । इटालीको राजधानी रोममा करिव पाँच सात सय वर्ष पुरानो रोमन साम्राज्य भएको बेलाको सहर अहिले पूरा भग्नावशेष छ । जताततै भत्केका दरवार ढुँगा इटा आदि छरपस्त छन् तर ति सुरक्षित छन् । सो ठाउँमा पस्न टिकट लिनु पर्छ र कडा सुरक्षामा चेक गरेर लाइनमा बसेर बल्ल भित्र जान पाइन्छ । त्यस्तो भग्नावशेष हेर्न पनि पर्यटकहरुको घुँइचो देख्दा हामी त छक्क परियो । आखिर त्यहाँ केही छैन सबै भत्केका संरचना मात्र भने पछि पर्यटकहरुले हेर्न चाहने यस्तै यस्तै रहेछ भन्ने थाहा भयो । त्यसैले प्रस्तावित श्रीनगरको मास्टर प्लानमा यस्ता पुरातात्विक संरचनाहरुलाई पनि समेट्न पाए अझ राम्रो हुने थियो । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update