Shittalpati
बन्द सधैंका लागि बन्द गरौं

आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मंगलबार नेपाल बन्द गर्‍यो । बन्दले देशभरका शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायातका साधन पूर्ण रुपमा ठप्प नै रहे । विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट जनता वाक्कदिक्क भएका छन् ।

भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दी र कोरोना महामारीमा मुलुकले खर्बाैंको नोक्सानी व्यहोर्नुपरेको तीतो यथार्थ जगजाहेर हुँदाहुँदै पनि बन्द, हड्ताल हुनु विडम्बना हो । बन्द, हड्तालका कार्यक्रम जुन समूह वा दलले आयोजना गरे पनि त्यसको प्रत्यक्ष असर भने सर्वसाधारणलाई नै पर्ने गर्दछ । विगतमा बन्द, हड्तालजस्ता कार्यक्रमबाट आजित भएका जनताले फेरि बन्दको सास्ती भोग्न विवश भएका छन् । बन्द, हड्तालले गर्दा यातायातका साधन ठप्प हुँदा यात्रुहरुको बिजोग हुने गरेको छ । बिरामी, मजदुर, सर्वसाधारण तथा गन्तव्यमा पुग्नुपर्ने यात्रुहरुलाई बन्दले निकै दुःख दिने गरेको छ ।

एक दिनको बन्द, हड्तालबाट राज्यलाई अर्बौ नोक्सान हुने गरेको छ । लामो समय कोरोना महामारीले धला परेको नेपाली अर्थतन्त्र उठ्न लागेका बेला बन्द हड्ता जस्ता गतिविधिले पुनः प्रभावित बनाएको छ । बन्दबाट स्वयं बन्दकर्ताहरुसमेत प्रभावित भएका हुन्छन् । शैक्षिक संस्था बन्द हुँदा धेरै विद्यार्थीको पठनपाठनमा प्रभाव पर्दछ । वित्त, व्यापार गर्नेहरुलाई एक दिनको बन्दले पनि ठूलो असर पु¥याउँछ । यस्ता यावत् समस्या उत्पन्न गर्ने बन्द, हड्ताल कसैको पनि हितमा नभएको तथ्य बन्दकर्ताहरुलाई पनि राम्रैसँग ज्ञान छ तर उनीहरुले नै यस्ता बन्द, हड्ताल आह्वान गर्नु दुःखद् हो । बन्द नै समस्याको समाधान पक्कै होइन । यसमा राजनीतिक दल गम्भीर हुनु जरुरी छ । यो मुलुकको आर्थिक समृद्धिमा धक्का लाग्नु मात्र हो । अर्थतन्त्रलाई पुनरुत्थान गर्नु त कता हो कता, सत्ता र कुर्सीको लोभका लागि विभिन्न बहानामा बन्द–हड्ताल गर्नु दुखद् हो । नेपाली जनताको मर्मविपरीत बन्द–हड्ताल गर्नु पार्टी र देशका लागि राम्रो होइन । यो कुरा आन्दोलनकर्ताहरुले बुझ्न जरुरी छ । विगतका बन्द, हड्तालबाट पाठ सिकेर आन्दोलनकर्ताहरुले अब बन्दको विकल्प रोज्नैपर्छ । यस्ता बन्द–हड्ताल तथा चक्काजाम सदाका लागि बन्द गरिनुपर्छ । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बन्द नै समस्याको समाधान भने पक्कै होइन । यसर्थ सर्वसाधारणलाई सास्ती दिएर गरिएको बन्दले कसैको पनि हित गर्दैन । बन्द सधैंका लागि बन्द गरौं ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update