Shittalpati
गिरीले देखाको मार्ग पहिल्याऔं

अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरे । यसबाट पनि उनको चिनारी पार्टीभित्र मात्र होइन, बाहिर पनि उत्तिकै स्थापित तथा स्वीकार्य छ भन्ने कुरा झर्लङ्ग बुझ्न सकिन्छ । गिरीको भौतिक शरीर नभएपनि उनका योगदान र विचारको आलोकले भने नेपाली राजनीतिलाई हमेसा बाटो देखाइरहने छ । आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा प्रवासदेखि जेलसम्म बसेका गिरीले राजनीति र समाज रूपान्तरणका लागि हरपल आवाज उठाइरहे । आफ्नै दल सत्तामा हुँदा किन नहोस्, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा सदैव प्रश्न गरिरहे । समय र परिस्थितिको गहिरो बोध भएका उनले राष्ट्र र समाजका समस्याहरू औंल्याइरहे । कुनै पद वा जिम्मेवारीले भन्दा निष्ठा, इमान, सिद्धान्त, दार्शनिकता र व्यवहारले अग्लिएका गिरिको निधनले उनको पार्टी र राजनीतिवृत्तमात्रै नभई अराजनीतिक पुस्ता पनि स्तब्ध भएको छ ।

नेपाली समाजमा पदका लागि मरिहत्ते गर्नेहरुका लागि गिरी एक अनुकरणीय र उदाहरणीय व्यक्ति समेत हुन् । उनी आफुले पाएको मन्त्री पद समेत नखाएर, सांसद र पार्टी केन्द्रीय सदस्यमा मात्र रमाए । तर पनि उनको कद अरूभन्दा उच्च रहिरह्यो । यही सच्चरित्रका कारण पनि गिरी चिरकालसम्म रहिरहने छन् । पछिल्लो समय नेपाली राजनीतिमा बौद्धिक, सिर्जनशील अनि निष्ठावान् राजनीतिकर्मीको अभाव खड्की रहेका बेला उनको निधनले देशले ठूलो क्षति व्यहोर्नु परेको छ । प्रदीप गिरी दुर्लभ एउटा दियो थिए । त्यो निभेको छ तर, उनले हिँडेको बाटो अरूका लागि अनुकरणीय छ । अनुसरणीय छ । साच्चिकै नेपाली राजनीतिलाई स्वच्छ, निष्ठा र जनतामा केन्द्रित गराउने हो भने प्रदीप गिरी हिँडेको बाटो नै अत्यन्त उपयुक्त छ । यसर्थ हरेक राजनीतिक गर्ने नेता र नेतृत्वले गिरीको सत्मार्ग पहिल्याउन प्रण गर्नु अनिवार्य छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update