Shittalpati
आदिवासी दिवस र यसको सार्थकता

आदिवासी जनजातिहरुले मंगलबार २८ औं विश्व आदिवासी दिवस बनाएका छन् । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका हुन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूको विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवद्र्धन गर्नु होे । त्यसका लागि संयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायहरू, सदस्य राष्ट्रहरू तथा विभिन्न तहका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विशेष कार्यक्रम गरी यो दिवस मनाएका छन् । विश्व आदिवासी दिवसको यसवर्षको नाराका रुपमा भने परम्परागत ज्ञान तथा सीपहरुको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरुको भूमिका भन्ने रहेको थियो ।

पछिल्लो सार्वजनिक तथ्याङ्कलाई केलाएर हेर्दा विश्वको कुल जनसंख्याको ५ प्रतिशत हिस्सा आदिवासीहरुले ओगटेको देखिन्छ भने विश्वभरका गरिबहरुको कुल संख्यामध्ये १५ प्रतिशत आदिवासीहरुको भागमा परेको छ । अझ त्यसमा पनि आदिवासी महिलाहरुको अवस्था त कहालीलाग्दो नै छ । उल्लेखित तथ्याङ्ककै आधारमा आदिवासीहरुलाई अझैसम्म पनि गरिब वर्गमै गणना गर्ने गरेको देखिन्छ । आदिवासी जनजातिहरुले आफ्नो हकअधिकारका लागि धेरै लामो समयसम्म आन्दोलनलाई अघि बढाउँदै आएका छन् र पनि अहिलेसम्म उनीहरुको अधिकारको सुनिश्चितता नभएको अवस्था छ । संवैधानिक प्रावधानका रुपमा कुनै पनि जातजाति, समुदाय, वर्गलाई भेदभाव गर्नु कानुनी अपराध भनिएको छ, तर पनि सामाजिकरुपमा आदिवासी जनजातिहरुप्रति समान व्यवहार हुन नसकेको पाइएको छ । अहिले आदिवासी जनजातिहरूप्रति राज्यले गर्ने जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विभेदको पुनर्वृत्ति भएको भन्दै उनीहरु संघर्षमा छन् । उत्पीडित आदिवासी जनजातिहरू विश्वभरि जहाँ भएपनि उनीहरू शोषित पीडित हुन् र उनीहरूको समस्या एउटै प्रकृतिको छ । त्यसकारण आफ्नो हकअधिकार र मुक्तिका लागि विश्वभरिका उत्पीडित आदिवासी जनजातिहरू आफैले कठोर संघर्ष गर्नु पर्दछ । तर, यस्तो संघर्ष जनजाति एक्लैले मात्र गरेर सफल हुँदैन । त्यसका लागि आफूहरूजस्तै उत्पीडनमा परेका अन्य वर्ग र समुदायसँग पनि एकता गर्न जरुरी छ । यसो गर्न सके मात्र आदिवासी दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update