Shittalpati
समयमै बजेट कार्यान्वयन गर

नेपालमा बजेट कार्यान्वयनको समस्या चुनौतीका रुपमा रहँदै आएको छ । समयमै बजेट आएर पनि विकास खर्च बढाउन तीनै तहका सरकार असमर्थ देखिएका छन् । यो समस्या वर्षौंदेखिको हो । वर्षको शुरुआततिर काम नगरी बस्ने र अन्त्यतिर बजेट खर्च गर्ने प्रचलन यथावत् छ । यसको सुधारका लागि पहल नभएका होइनन् । तर, हालसम्मका पहल सफल हुन सकेका छैनन् । निर्माण कार्य हुने बेला कागजी प्रक्रियामा अलमलिनु भनेको आयोजनाको नेतृत्व लिनेहरू असक्षम भएको प्रमाण हो । विकास खर्च नभएसम्म विकास आयोजनाले पूर्णता नपाउने मात्र होइन, जनताको जनजीविकामा पनि सुधार आउन सक्दैन । राजनीतिक अस्थिरताले बजेट खर्च हुन नपाएको भन्दै स्थिर सरकार आएमा बजेट खर्चमा समस्या नदेखिने आंकलन गरिएको थियो । तर, स्थिर सरकार आएपछिका वर्षका तथ्यांक हेर्ने हो भने पनि बजेटको खर्च प्रगति ओरालो लाग्दै आएको छ । यो अत्यन्त दुखको कुरा हो ।

विनियोजन बजेट खर्च समयमा नहुनु अर्थतन्त्रका लागि एक किसिमको दीर्घरोग हो । यसले गर्दा पूर्वाधार निर्माण गुणस्तर नहुनु, आयोजनाहरू निर्धारित समयमा सम्पन्न नहुनु जस्ता समस्या निम्तिएका छन् । यस्ता समस्या समाधान हुन नसके तरलताको अभाव, सुस्त आर्थिक वृद्धिजस्ता समस्या ज्यूँका त्यूँ रहिरहने छन् । समयमै बजेट नसक्ने प्रवृत्तिले भ्रष्टाचारलाई समेत मलजल गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि पनि समयमै काम सक्ने गरी बजेट खर्च गर्ने परिपाटीलाई जोड दिन आवश्यक छ । कार्यतालिका बनाएर काम गर्ने हो भने अहिलेको अवस्थामा पक्कै पनि सुधार आउँछ । आयोजनाको काम सम्पन्न नगर्ने तर नयाँ बजेटको माग गर्ने प्रवृत्ति अर्को समस्या हो । पहिलै नै विनियोजन गरिएको बजेट खर्च गर्नुको साटो थप मागेर हैरान पार्ने प्रवृत्ति विकास विरोधी हो । साथै बजेट रकमान्तर गरेर आर्थिक वर्षको अन्त्यमा सक्ने गरिन्छ । यसरी नयाँ आयोजनाका लागि बजेट माग्ने प्रवृत्तिलाई समेत रोक्न आवश्यक छ । बजेट समयमै कार्यान्वयन भए मात्र देशमा सुशासन र समृद्धि ल्याउन सकिन्छ । यसर्थ तीनै तहका सरकारले यसर्थ आर्थिक सुशासन र समृद्धिका लागि बजेट समयमै कार्यान्वयन गर्ने प्रवृत्तिको विकास गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update