Shittalpati
कोरोनालाई निम्तो दिइरहेका त छैनौं ?

नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि उकालिन थालेको छ। संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणले ठूलो रुप नलेला भन्न सकिन्न । खासगरी, पछिल्लो समय भारतमा जुन रूपमा संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी झक्झकिनुपर्छ । दुई वर्षअघि हामीकहाँ केही भएको छैन र हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको तथ्य यहाँ हेक्का राख्नुपर्छ । त्यसैले, नागरिकदेखि सरकारसम्म सबैले कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु–गराउनु अत्यावश्यक छ ।

संक्रमण फैलिन नदिन भिडभाडमा नजाँन र जानैपरे मास्क लगाउन सकिन्छ, तर त्यस प्रकारको सावधानी अहिले अपनाइएको छैन । सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहान शहरबाट देखापरेको कोरोना महामारीले कहिले उच्च गति लिने र कहिले स्वरुप परिवर्तन गर्दै आक्रमण गर्ने गर्दै आएको छ । कोभिड विरुद्धको खोप लगाएको भए पनि त्यस्ता व्यक्तिमा समेत संक्रमण देखिएको छ । यसले ढुक्क भइहाल्ने अवस्था भने छैन । नेपालमा हालै नयाँ उपप्रजातिको कोरोना भाइरस भेटिएको समाचार बाहिर आयो । तर नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले आम नागरिकमा अन्तरनिहित सूचना पाउने अधिकारलाई नै गुमराहमा राखी नयाँ उपप्रजातिको कोरोना भाइरसको जोखिम के कस्तो छ र कसरी जोगिने भन्ने बारेमा समेत सचेत गराएको छैन। यो अत्यन्त दुखको कुरा हो। पछिल्ला केही दिन यता नेपालमा १ सय ५० देखि २ सय ६० जनाको हाराहारीमा संक्रमित देखिन थालेका छन्। यो अवस्था बढ्दै जाने हो भने नेपालमा पुनः पहिलेको अवस्था नआउला भन्न सकिदैन । सहर–बजारको भीडभाडदेखि राजनीतिक दलहरूको सभा–समारोहसम्ममा मानिसहरू स्वास्थ्य सावधानीबिनै जसरी निर्धक्क सहभागी भैरहेका छन्, त्यसलाई हेर्दा हामी कोरोना भाइरससँगसँगै जिइरहेका त छैनौ भन्ने भान हुन्छ। समय–समयमा हात धुने वा ‘स्यानिटाइजर’ को प्रयोग गर्ने प्रचलन मात्रै घटेको होइन, मास्क नलगाउने क्रम पनि बढेको देखिन्छ । यसबाट कतै हामी आफैंले महामारीलाई पुनःनिमन्त्रणा दिइरहेका त छैनौं भन्ने प्रश्न उठ्छ । यसर्थ, आफ्नै लापरवाहीका कारण संक्रमण फैलने कारक बन्नु हुँदैन, यसतर्फ सबै गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update