Shittalpati
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पा जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि विहीबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लाका ३ हजार ५ सय ८६ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकाले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमूख गिरीको भनाइ छ । पाल्पालाई यस अघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ४ हजार १ सय ९ जना बालबालिकाले पूर्ण खोप पाएका थिए । यस वर्ष असार १ गतेदेखि माथागढी गाउँपालिकाबाट पूर्ण खोप सुनिश्चिता घोषणा गरी असार २६ गते निस्दी गाउँपालिकामा पुगी दशवटै पालिका घोषणा गरिएको थियो । त्यस पश्चात जिल्ला खोप समन्वय समितिले विहीबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेको हो । घोषणासँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डा. पुरन बज्रचार्यले घोषणा गर्नु महत्वपूर्ण नभई त्यसलाई दीगो रुप दिनु महत्वपूर्ण हुने बताए । परिवार कल्याण महाशाखाका खोप जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले बालबालिकाहरुलाई प्राणघातक रोगहरुबाट बचाउन पूर्ण खोप सुनिश्तिच गर्नु परेको बताए । उनले कुनै बालबालिका खोपबाट बञ्चित भएमा त्यसको असर सिंगो देशलाई नै पर्ने भएकाले खोप सुनिश्चित गर्नु आवश्यक रहेको औल्याए । श्रेष्ठले भने ‘कुनै एक बालबालिकाले खोप लगाउनबाट बञ्चित भए भने, त्यसले कुनै पनि प्रणाघात रोग निम्त्याउन सक्ने र त्यसको असर वडा, पालिका, जिल्ला र देशभर नै पर्ने हुन्छ, जसले गर्दा पूर्ण खोप सुनिश्चित गरेको लगानी बालुवामा पानी खन्याएर जस्तै हुन्छ , त्यसैले यस विषयमा सबै वर्ग गम्भीर बन्नुपर्छ ।’ उनले स्थानीय सरकारलाई भौतिक पूर्वधारमा भन्दा पनि स्वस्थ नागरिक उत्पादन गर्न स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा सिंजाली लगायतले पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा पूर्ण खोप सुनिश्चित गर्न सहयोग पु¥याएका महिला स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी, स्थानीय सरकार र विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, स्वास्थ्य कार्यालयका टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update