Shittalpati
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । दशवटै स्थानीय तहहरुले पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेका थिए ।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरी बताए । यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो । त्यससँगै जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै जिल्लाका १० वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले एनजेडीलाई जानकारी दिए । उनका अनुसार छिट्टै जिल्ला खोप समन्वय समितिको बैंठक बसी जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरिने छ । आइतबार निस्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएसँगै यहाँका दशवटै पालिका पूर्ण खोप सुनिश्चितता भएका हुन् । तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकालाई शनिबार घोषणा गरिएको थियो । यहाँका बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका रामपुर नगरपालिकालाई यस अघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । बगनासकाली गाउँपालिकामा १६ महिनादेखि २३ महिना भित्रका २ सय २६ बालबालिकाहरुले पूर्ण रुपमा नियमित खोप लगाएका छन् । ३ सय १ जना १५ महिना भित्रका बालबालिकाहरुले भने खोप लगाउदै गरेको स्वास्थ्य शाखाले जनाएको छ । यहाँ कोभिडको पहिलो खोप १५ हजार २ सय ७१ जनाले लगाएका छन् । दोस्रो खोप १५ हजार २ सय ४७ र बुस्टर खोप १० हजार १ सय ६३ जनाले लगाएका छन् । यस्तै माथागढी गाउँपालिकामा १६ महिनादेखि २३ महिनाका २ सय ८७ जना बालबालिकाले पूर्ण र ० देखि १५ महिनाका ४ सय ६२ जना बालबालिकाले नियमित खोप लगाएपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । यहाँका ८ वटै वडाबाट शून्यदेखि २३ महिना सम्मका बालबालिकाहरुको विवरण संकलन गरी खोप लगाईएको प्रमुख जिसीले बताए ।तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पूर्ण खोप सुनिश्चित घोषणाले बालबालिका तथा उनीहरुका अभिभावकमा सकरात्मक सन्देश प्रवाह गर्ने बताए । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिका घोषणाले एउटा एजेण्डा पुरा भएको बताए । प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ९ वटा वडा रहेको यस पालिकामा खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले भनिन् ‘खोप सेवा प्राप्त गर्नु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो, उनीहरुको अधिकारलाई पालिकाले सुनिश्चित गरेको हो ।’ सबैको सहयोग र साथका कारण पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

पाल्पालाई २०७० मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । यस अघिका वर्षहरुमा यहाँका पालिकाहरुमा कोरोना महामारी र विविध कारणले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update