Shittalpati
रहवासमा गर्भवती आवास गृह

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।

पालिकाको सबै भन्दा विकट वस्ती रहेकाले पनि यहाँका गर्भवती महिलाहरु परीक्षणका लागि स्वास्थ्य संस्थामा समयमै पुग्न नसक्दा ज्यान जोखिममा राख्नुपर्ने अवस्था रहेको छ । उक्त जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यचौकीमै गर्भवती आवास गृहको प्रवन्ध गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । उनका अनुसार वडा कार्यालय र स्वास्थ्यचौकीको व्यवस्थापनमा स्वास्थ्यचौकीको पुरानो भवनमा गर्भवती आवास गृह सञ्चालनमा ल्याइएको हो । सडक र यातायातको असुविधाका कारण यहाँका महिलाहरुलाई सुरक्षित सुत्केरीका लागि समयमै स्वास्थ्यचौकी सम्म पुग्न असहज भएकाले आवासको व्यवस्था मिलाईएको वडा अध्यक्ष जंगबहादुर दर्लामीले बताए । उनले भने ‘बर्खाको समय छ, यातायात सञ्चालन अवरुद्ध हुन सक्छ, जसले गर्दा गर्भवती महिला समयमै स्वास्थ्य संस्था पुग्न गाह्रो हुन्छ , त्यस्तो समयस्यालाई मध्यनजर गरेर स्वास्थ्यचौकीमै आवास बनाएका हौं ।’

आर्थिक अवस्था राम्रो हुनेहरु ठूला अस्पतालमा जाने गरे पनि निम्न आय भएकाहरु स्वास्थ्यचौकीमै पुग्ने गरेका छन् । समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा धेरै महिलाको ज्यान समेत जाने गरेको छ । गर्भवती महिलाको सुरक्षाका लागि वडा कार्यालले एक हप्ता अघि नै स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याईएको आवास गृहमा आउन अनुरोध गरेको छ । यहाँ खाना,बस्नको व्यवस्था समेत मिलाइएको छ । स्वास्थ्यकर्मीहरुको निगरानीमा रहने भएकाले पनि गर्भवती महिलाहरुका लागि आवास गृह महत्वपूर्ण हुने वडा अध्यक्ष दर्लामीले विश्वास लिए । अहिले यहाँको आवासमा एक जना गर्भवती महिला रहेकी छन् ।

माथागढी गाउँपालिकाले विशेष गरी गर्भवती महिलाहरुको क्षेत्रमा उल्लेखीय काम गर्दै आएको छ । पालिकाले गर्भवती महिलाहरुको सुरक्षाका लागि पोषण तत्वहरुको व्यवस्था गर्दै आएको छ । उसले आर्थिक वर्ष २०७६/०७७ देखि गर्भवती महिलाहरुका लागि ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम नै सञ्चालन गरिरहेको छ । उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत पालिकाले गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रम नै ल्याएको छ  । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई पालिकाले अगाडि बढाई रहेको छ । ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमले गर्भवती महिलाहरु नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरु जाने र पोषणयुक्त खाने कुराहरुमा ध्यान दिन थालेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले स्वास्थ्य संस्थामा पुगि नियमित गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा उल्लेखीय वृद्धि भएको छ । अहिले यहाँका महिलाहरु गर्भ रहेको चार महिनादेखि नै स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने गरेका छन् । जसले गर्दा आमा र शिशुको अवस्थालाई स्वस्थ राख्न मद्दत पुगेको छ । अण्डामा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा बढी प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भएर जन्मने शिशु स्वस्थ जन्मिने भएकाले पनि गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपहार स्वरुप अण्डा वितरण गर्दै आएको छ ।

अज्ञानताका कारण हिजोका दिनहरुमा गर्भवती भई घरमै सुत्केरी हुने महिला दिदीबहिनीहरु हिजोआज भने स्वास्थ्य संस्थामा जाने गरेका छन् । पौष्टिक आहारविहार र परीक्षण नहुँदा आमा र शिशुको ज्यान जोखिममा हुने गथ्यो । तर हिजोआज भने गाउँपालिकाले टोल–टोलमा सचेतना र प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकाले यस्तो अवस्थामा कमी आएको सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update