Shittalpati
खै तानसेनको विकासमा चासो ?

पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ । तर यसतर्फ कसैको पनि चासो र चिन्ता भने छैन । स्थानीय सरकारले पनि यहाँको विकासका लागि के गर्दा राम्रो हुन्छ भन्ने विषयलाई खासै प्राथमिकता दिएको पाईदैन । कुनै बेला पाल्पाको सदरमुकाम तानसेनलाई शिक्षा, स्वास्थ्य र पर्यटकको प्रचुर सम्भावनालाई हेरेर यहाँका पुराना व्यवसायीहरुले आफ्नो व्यवसाय बचाएर आर्थिक उपार्जन गरेरै भए पनि उच्च शिक्षाको विकासमा जोड दिएका थिए तर आज त्यस्तो देखिदैन । सिद्धबाबाको बाटो देखाएर पर्यटक आएनन् भन्दै गर्दा त्यही बाटोबाट सयौं भारतीय पर्यटक पोखरा जाने अनि तानसेन भित्र्याउँनका लागि सिद्धबाबा बाधक बन्ने कुरालाई किन मनन् गर्न सकिएको छैन ? सुनौलीबाट कुदेको पर्यटकको कार सिधै पोखरा पुगेर रोकिनुपर्ने अवस्था कसरी सिर्जना भयो ? यसतर्फ स्थानीय सरकार र यहाँका पर्यटन व्यवसायीहरुले सोच्नुपर्ने हो । तर यस्ता विषय सोच्ने फुर्सद न यहाँको स्थानीय सरकारलाई छ न त पर्यटन व्यवसायीलाई नै । सुनौली, भैरहवा, बुटवल अनि बर्तुङ्ग जस्ता चोकहरुमा व्यानर सहित पर्यटन सूचना केन्द्र राखेर यो बाटो हुँदै जाने पर्यटकहरुलाई स्वागत गर्ने परिपाटीको विकास गर्न सके मात्रै पनि तानसेनलाई चहलपहल मात्र होइन आर्थिक रुपमा समेत सवल र सक्षम बनाउन सकिन्छ । यसतर्फ स्थानीय सरकार र होटल व्यवसायीले चासो दिन आवश्यक छ ।

होटल खोलेर मात्रै पर्यटक आउँछन् भन्ने गलत सोंचको अत्य हुन जरुरी छ । पर्यटन व्यवसाय नै तानसेनको मेरुदण्ड हुन सक्छ भन्ने सोंचले स्थानीय सरकारका नीति र कार्यक्रमहरु बन्नुपर्छ । यहाँका उद्योगी, व्यवसायीहरु सधै निषेधाज्ञा लागेको जस्तै सुनसानमा चानुमानु भएर बसी रहने होइन, अब सोच्नुपर्ने बेला आयो । हामीले हाम्रो इतिहास भजाएर, जाने भन्दा पनि वर्तमान र भविष्यका लागि नयाँ रणनीतिमा जोड दिन सकिएन भने तानसेन धेरै छिटो सुन्दर भएर पनि दरिद्र नगरका रुपमा चिनिने दिन नआउला भन्न सकिदैन । तसर्थ तानसेनको विकासमा स्थानीय सरकारसँगै पर्यटन र होटल व्यवसायीले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update