Shittalpati
फेरी कोरोनाको चिन्ता

केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर बढ्दै गएको हो । असारको सुरूमा १ प्रतिशत पनि संक्रमण दर नपुगेको स्थितिबाट दुई हप्ताभित्रैमा झण्डै ६ प्रतिशतको हाराहारीमा संक्रमण दर पुगेको छ । संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । केही समय कोरोनाबाट राहत पाएका नेपाली नागरिकहरु पुनः संक्रमण दर उकालो लाग्न थालेपछि चिन्तित बनेका छन् ।

छिमेकी भारतमा पछिल्ला दिन संक्रमण बढ्दाकै असर नेपालमा देखिएको हुन सक्ने आंकलन गरिएको छ । केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर १०/१२ जनामा संक्रमण देखिएको छ । दैनिक २–४ जनामात्रै फेला पर्दै आएकोमा अहिले ६०/६५ को हाराहारीमा दैनिकरुपमा संक्रमितहरु फेला पर्न थाल्नुले थप चिन्ता थपेको छ । भारतमा कोभिड संक्रमित संख्या वृद्धि भएसँगै त्यहाँबाट सीमा नाका हुँदै नेपाल आवतजावत गर्नेहरुमा संक्रमण देखा परे पनि त्यसप्रति अहिले सरकारको समेत पर्याप्त ध्यान गएको छैन, जुन अत्यन्त दुःखको कुरा हो । सरकारले यसतर्फ ध्यान नदिने हो भने अवस्था भयावह नहोला भन्न सकिदैन । समय छँदै सीमा नाकाहरुमा कडाइ गर्नुको विकल्प छैन । कोभिडविरूद्धको खोप लगाएको अहिले धेरै समय भैसकेको छ, त्यसले अहिले रोगप्रतिरोधात्मक क्षमतालाई पहिलाझैँ बलियो बनाउन सकेको छैन । थप बुस्टर डोजहरु प्रयोगमा नआउँदा संक्रमण दर यसरी बढ्नुमा त्यो कारकसमेत बनिरहेको छ । कुनै पनि खोपहरु निश्चित समयका लागिमात्रै हुने हुनाले थप सुरक्षाका लागि ती कालान्तरमा प्रभावकारी हुन सक्दैनन् । त्यसैले पनि सरकार अहिले नै चनाखो बन्नु आवश्यक छ । एकातिर खोपको प्रभावकारिता कम हुनु र अर्कोतिर भारतमा समेत संक्रमण दरमा दिनानुदिन बढोत्तरी हुनुले नेपालमा प्रत्यक्ष असार पुग्नु स्वाभाविक नै हो । तर यसलाई सरकारले सामान्य रुपमा लिनु भनेको आमनागरिकको स्वास्थ्यमाथिको खेलवाड हो । यसर्थ सरकारले समय छदै कोरोना नियन्त्रणप्रति प्रभावकारी कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update