Shittalpati
सहकारी दिवसको औचित्य

आज अन्तर्राष्ट्रिय सहकारी दिवस । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसंघले समेत समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै एउटै लक्ष्य र उद्देश्यका साथ सन् १९९५ देखि संयुक्त रूपमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालेको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समूहलाई प्रदान गरिने वित्तीय सेवा या सहायतालाई बुझाउँदछ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनिकरणका लागि बिमा हो । विश्वमा सहकारी अभियान सफल अभियानको रूपमा अघि बढेको भए पनि नेपालमा भने यस क्षेत्रले उल्लेख्य सफलता हासिल गर्न सकिराखेको छैन । यो अत्यन्त दुखको कुरा हो । सहकारी अभियान विशेष गरी निम्न आय भएका र सानो पुँजी भएकाहरुका लागि भए पनि त्यो त्यसो हुन सकिरहेको छैन । नेपाली सहकारी जति उर्वर देखिन्छ कार्यसम्पादनमा त्यत्ति प्रभावकारी मानिएको छैन । छिमेकी मुलुक भारत, चीनमा सहकारीको असफल अभ्यास भएको छ । सहकारिताको माध्यमबाट भएको कृषि क्षेत्रको विकासलाई नेपालका सहकारीले सिको गर्दै अघि बढ्न सकेमात्रै पनि कृषि क्षेत्रले फड्को मार्ने देखिन्छ । यस क्षेत्रलाई दिगो, भरपर्दो, परिणाममुखी बनाउनको लागि ऐन, नीति नियम, मापदण्ड, अवधारणा, विधि प्रक्रिया, कार्ययोजना, प्रभावकारी सूचना र व्यवस्थित संगठन आधारभूत पक्ष हुन् । यी आधारभूत पक्षलाई नेपालका सहकारी अभियानले पालना गरेका छैनन् । यो विडम्बनाको कुरा हो ।

सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय र स्थानीय निकायबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । देशको वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको सहकारीलाई थप सक्रिय र चलायमान बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्दछ । नेपालजस्तो सानो भूूगोल र जनसंख्यामा यति धेरै सहकारी संस्था, त्यो पनि बढ्दो क्रममा रहेको अवस्थामा सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारी संस्थाको उद्देश्य, कार्यक्षेत्र वित्तीय अवस्था, पूँजी लगानी असुल उपरका विश्वसनीय पक्ष, अनावश्यक प्रतिस्पर्धा र वित्तीय तरलताका समस्या हटाई दिगो व्यवस्थापन गर्न सके मात्र सहकारी दिवस मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित हुन पुग्छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update