Shittalpati
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै

गुल्मी, जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि प्रि–इनरोलमेन्ट फारामको काम प्रशनसनबाटै मिलाइएको छ । यहाँ ई–पासपोर्टको सेवा दिन थालेपनि सेवाग्रहीले फाराम भर्दा झन्झटिलो भएको गुनासो गरेपछि जिल्ला प्रशासनले सेवाग्रहरीको सहजताको लागि प्रि–इनरोलमेन्ट काम पनि गरिदिने भएको हो । योसँगै सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) लिन सुरुमा आफैले वा साइबरबाट फम भरेर तोकेको दिन सेवाग्राहीले फम लिएर जानुपर्ने हुन्थ्यो । तर सुरुकै फाराम भर्न नपाउँदा कैयौं नागरिक सेवा लिनबाट बञ्चित हुनुपरेको थियो । प्रशासन कार्यालयले सुरुकै प्रि–इनरोलमेन्ट काम पनि गर्ने भएपछि अब सेवाग्रहीले फाराम भर्न दिन कुर्न नपर्ने भएको छ । जिल्ला र जिल्ला बाहिरबाट आउने सेवाग्रहीले फाराम भर्न नपाएको र बाहिर फाराम भर्दा चर्को मूल्य तिर्न परेको गुनासो आएपछि प्रशासनले प्रि–इनरोलमेन्ट काम पनि गर्ने भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । परीक्षणको क्रममा रहेकाले यसलाई दीर्घकालीन रुपमा लैजानेतर्फ ध्यान केन्द्रित गर्ने पौडेलले बताए । फाराम भर्न सक्नेहरुले आफैले पनि फाराम भरेर आउन प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे ।

सुरुकै फाराम भर्न नसक्नेहरुले आवश्यक काजपत्र लिएर प्रशासनमा आइसकेपछि सिधैं राहदानीको काम गर्न सकिने भएको छ । जसले गर्दा चर्को मूल्य तिनुपर्ने र राहदानी बनाउनकै लागि फाराम भर्ने दिन कुरेर बस्न नपर्ने पौडेलले बताए । वैदेशिक यात्राका लागि यसअघि मेसीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ । तर यो सेवा सेवाग्रहीको माग अनुसार चाहेजति दिन नसक्दा सेवाग्रहीले सास्ती भने खेप्दै आएका छन् । प्रशासन कार्यालयले सिमित संख्यामा मात्रै राहदानी दिन थालेकाले समस्या हुँदै आएको हो । जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) माग अत्यन्तै धेरै छ । विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा लिन सक्कल नागरिकता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिहे गरेको खण्डमा बिवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तीन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार हुन्छ । जसका लागि प्रशासनमा सुरुमा प्रि–इनरोलमेन्ट काम, फाराम भरी राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जानुपर्छ । अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रिन्टका लागि राहदानी विभागमा जाने गर्दछ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update