Shittalpati
चर्कियो महँगी

रामचन्द्र रायमाझी
पाल्पा, दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो । विशेष गरेर तरकारी, घ्यू, तेल, यातायात, दाल तथा गेडागुडी, इन्धन जस्ता वस्तुको मूल्य अत्याधिक बढेको छ । तरकारीको मूल्य त पछिल्ला तीन महिनामा अचाक्ली नै बढेको छ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ६ सय पुगेको छ, भने सार्वजनिक यातायातमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ ।

यस्तै पेट्रोलको मूल्य वृद्धि भएर १ सय ६० पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४३ छ । केही महिनायता देशभर नै मूल्यवृद्धि उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै ढुवानी लागतसँगै आन्तरिक बजारमा उपभोक्ता मूल्यवृद्धिदर निरन्तर उकालो लागिरहेको जानकार बताउँछन् । राष्ट्र बैंकका अनुसार गत माघमा मुलुकको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ५.९७ प्रतिशत थियो । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर २.७० प्रतिशत मात्रै थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५.९६ प्रतिशत छ । २०७७ माघ महिनाको तुलनामा गत माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य २०.६८, तरकारीको १४.०७ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि ९.३६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तीन महिनाअघि एक हजार ५ सय रुपैयाँ पर्ने २५ किलोको सावा मनसुली चामल अहिले एक हजार ६ सय पुगेको छ भने जिरा मसिनो १ हजार ५ सय पर्ने एक हजार ६ सय ५० पुगेको छ ।

यस्तै प्रति लिटर २ सय ५० पर्ने सोयाविनको तेल अहिले ३ सय पुगेको छ । प्रतिलिटर २ सय ८० रहेको सनफलर अहिले ३ सय पुगेको छ । किलोको एक सय ४५ रुपैयाँ रहेको मुसुरोको दाल एक सय ६० पुगेको छ । त्यस्तै, ९० रुपैयाँ किलोको चिनी ९५ र एक सय पर्ने चना प्रति किलो १ सय ६० पुर्‍याइएको छ । ढुवानी लागत बढेकाले खाद्यान्नको मूल्य वृद्धि भएको तानसेनका खुद्रा व्यापारी विष्णु गाहाले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अधिकांश वस्तुको सेवा लागत बढेकाले मूल्यवृद्धि भएको बताएको छ । उत्पादन घटेका कारण तरकारी तथा फलफूलमा महँगी बढेको मन्त्रालयको दाबी छ भने खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय कारण देखाएको छ ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारी र हवाई भाडादर वृद्धि भएको बताएको छ । वस्तु तथा सेवाका आपूर्तिकर्ताले एक–अर्कालाई दोष देखाएर मूल्यवृद्धि गरिरहँदा सबैभन्दा ठूलो मारमा भने उपभोक्ता परेका छन् । सर्वत्र मूल्यवृद्धि हुनुमा सरकारी संयन्त्रको दोष रहेको जिल्लाका उपभोक्ताकर्मी बताउँछन् । जिल्लामा बजार अनुगमनको जिम्मेवारी पाएका नियकायहरु मूल्यवृद्धि चर्किदा समेत मौन छन् । उनीहरुले मौसमी बजार अनुगमन गरेर मात्र उम्कने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update