Shittalpati
पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण

पाल्पा, केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । ४५ जनाको पीसीआर परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ११, रामपुर नगरपालिकाका ४, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ जना र माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पिसिआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय ३६ जना महिला र ४ हजार २० जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४३ जनामा संक्रमण देखिएको छ । ८२ जनामा परीक्षण गरिएकोमा ४३ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका २२, माथागढी गाउँपालिकाका ७, रम्भा गाउँपालिकाका ६, बगनासकाली गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकाका १÷१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ४ सय १७ पुगेको छ । जहाँ २ हजार २ सय ६९ जना महिला र २ हजार १ सय ४८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका ३, रैनादेवी छहराका २, रामपुर, रम्भा, बगनासकाली र तिनहुँका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय २५ पुगेको छ । जसमा ४ हजार ६ सय ९७ महिला, ५ हजार ८ सय २८ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म २ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update