Shittalpati
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन

गुल्मी, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले समग्र अस्पतालको सम्बन्धमा जानकारी गराएका थिए । गुल्मी अस्पतालमा सामाजिक सेवा इकाई मार्फत असहाय गरिबको लागि सेवा भइरहेको पनि पच्याले जानकारी गराए । बिशेषज्ञ डाक्टरको अभाव भएकाले यसमा ध्यान दिन मन्त्री रानालाई डाक्टर पच्याले आग्रह गरे । आर्थिक अभावमा कोभिड १९ परीक्षण प्रयोगशाला बन्द भएको र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए । निर्माणधिन गुल्मी अस्पतालको २० प्रतिशत भौतिक काम सकिएको पनि मन्त्री रानालाई जानकारी गराइएको छ ।

उक्त अस्पताल तोकिएको समयमा निर्माण सम्पन्न गर्न मन्त्री रानाले निर्देशन दिए । उक्त अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको जिल्ला आयोजना इकाई पाल्पामार्फत स्वच्छन्द बानियाँ जेभीले काम गरिरहेको छ । मन्त्री रानाले बढ्दो कोभिड संक्रमणलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्न अस्पताललाई निर्देशन दिए । ‘कोभिड संक्रमण बढ्दै गएको छ’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रानाले भने । उनले ‘कोभिडको संक्रमण व्यापक रुपमा फैलिन नदिन तयारी गरिहाल्नुस् ।’ उनले गुल्मी अस्पताललाई बिरामी उपचारको लागि आउँदा झन् बिरामी हुने वातावरण भएको भन्दै स्वच्छ, सफा र आनन्दमय वातावरण बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update