Shittalpati
पाल्पा प्रशासनले संक्रमण फैलिन नदिन सक्रियता बढायो

रामचन्द्र रायमाझी
पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बुधबार बसेको बैठकले सम्भावित जोखिमलाई मध्यनजर राखेर १४ बुँदे आदेश जारी गरेको छ । उसले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने÷नगराउने निर्णयलाई कार्यान्वयन गर्न अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले माघेसंक्रान्ति मेला , राजनीतिक प्रशासनिक तथा सांस्कृतिक कार्यक्रम जात्रा, महोत्सव, वार्षिकत्सव, भेला, जुलुस तथा र्‍याली जस्ता भिडभाडजन्य गतिविधि नगर्न÷नगराउन आग्रह गरेको छ । आगामी माघ ७ गतेदेखि लागू हुने गरी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क जस्ता सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ । खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्रै सेवा दिइने उल्लेख छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन सेन्टरलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राख्ने, कोभिड–१९ को परीक्षणको दायरा बढाउन र नियमित खोप केन्दमा खोपलाई अभियानका रुपमा आगाडि बढाउन स्थानीय तहको सहकार्यमा स्वास्थ्य कार्यालयले आवश्यक व्यवस्था मिलाउने, निजी व्यवसायी सञ्चालकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सेवा,व्यवसाय सञ्चालन गर्ने, सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधनहरुले सिट क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरिएको छ ।

आदेशको उल्लघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० र अन्य प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । पछिल्लो समय जिल्लामा संक्रमणदर बढ्न थालेको छ । यहाँ बुधबार ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार तानसेनका २ र रम्भा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update