Shittalpati
फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण

रामचन्द्र रायमाझी
पाल्पा, नेपालमा केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ फेरी बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको हो ।

नेपालमा पनि पुस तेस्रो हप्तादेखि संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ अहिले दैनिकजसो संक्रमितहरूको संख्या उच्च देखिएको हो । मंगलबार कोरोना ग्राफ Þवात्तै बढेको छ । नेपालमा मंगलबार एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कोरोना ग्राफ ह्वात्तै बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ४८ पीसीआरबाट १ हजार ९ सय १८ जना संक्रमित भएका हुन् भने ४ हजार ३ सय ८५ एन्टिजेन परीक्षण हुँदा ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ सय १३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ पुगेको छ । सोमबार पनि उच्च संख्यामा संक्रमित थपिएका थिए । मन्त्रलायको तथ्यांकअनुसार एक हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । ११ हजार ४ सय २९ जनामा परीक्षण गरिएकोमा १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । ८ हजार ९ सय ६५ पीसीआर परीक्षणमा १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो भने २ हजार ४ सय ६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको थियो । यसअघि हरेक दिन एक/दुई सयको संख्यामा संक्रमित थपिने गरेकोमा यो हप्ता संक्रमणको ग्राफ उच्च देखिएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय समेत गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने, अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने, गृह मन्त्रालयको निर्णयमा भनिएको छ ।’ जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने जनाइएको छ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै मंगलबार संक्रमण Þवात्तै बढेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा–सम्मेलन सहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएका छन् । यस्तै उनीहरुले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेका छन् । यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update