Shittalpati
पर्यटकीय सम्भावना र रैनादेवी छहरा

भुवन रायमाझी,

पाल्पा जिल्ला आफैमा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन् । संघीय संरचनापछि पाल्पामा दश स्थानीय तह निर्माण भएका छन् । दशवटै स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास र विस्तारलाई जोड दिदै आएको पाइन्छ । स्थानीय तहको प्रमुख आयस्रोत पर्यटकीय क्षेत्र भएकाले पनि जिल्लाका स्थानीय सरकारहरुले पर्यटकीय क्षेत्रलाई विशेष जोड दिएका छन् । आन्तरिक आयस्रोतको सबैभन्दा बलियो क्षेत्र पर्यटन रहेकाले पर्यटकीय क्षेत्रको विकास तथा प्रचार प्रसारका लागि जिल्लाको रैनादेवी छहरा गाउँपालिका पनि दिर्घकाली योजनाका साथ अगाडि बढेको देखिन्छ । गाउँपालिकाले स्थानीय तहमा रहेका धार्मिक पर्यटकीयदेखि अन्य पर्यटकीय क्षेत्रको विकासका लागि योजना अगाडि बढाएको छ । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । ति पर्यटकीय स्थलहरुको संवद्र्धन र विस्तार गर्न सके गाउँपालिकाको राम्रो आम्दानीको स्रोत बन्न सक्दछ । यसर्थ यस लेखमा रैनादेवी छहरा गाउँपालिका भित्र रहेका पर्यटकीय सम्भावनाका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।


पाल्पाको सदरमुकाम तानसेनदेखि २७ किलो मिटर पश्चिममा रैनादेवी छहरा गाउँपालिका अवस्थित रहेको छ । धार्मिक संस्कृति ऐतिहासिक पर्यटकीय महत्व रहेको यस गाउँपालिका भित्र धेरै प्रकारका जातजातीहरुको बसोवास रहेको छ । यो ग्रामीण पर्यटनका लागि अत्यन्त सम्भावना बोकेको गाउँपालिका हो । गाउँपालिका भित्र २६ हजार ४ सय ६९ जनसख्या छ । गाउँपालिका १७५.८८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । संघीय ढाँचा अनुसार गाउँपालिकामा साविकाका ८ गाविस छहरा, मुझुङ, सोमादी, सिद्धेश्वर, भुवनपोखरी, जुठापौवा, बल्डेङगढी र सत्यवती मिलेर रैनादेवी छहरा गाउँपालिका बनेको छ । गाउँपालिकाले प्राकृतिक, साँस्कृितक, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा आफुलाई परिचित बनाउन सफल भएको छ । यहाँ मनोमहक दृष्य सहितका थुप्रै डाँडाहरु रहेका छन् । यहाँ आउने अधिकांश आन्तरिक तथा बाÞय पर्यटकरुले रैनादेवीमा रहेका हरियाली डाँडामा आएर भरपुर मनोरञ्जन लिने गर्दछन् ।

गाउँपालिका केन्द्र नपुग्दै मुझुङमा रहेको भालुखान बजार हुदैँ कालिका मन्दिर दर्शन गरी अमलाबास, छहरा पुगिन्छ । जिल्लामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई रैनादेवी छहरासम्म पुर्‍याउनका लागि नेपाल पर्यटन पत्रकार संघले गाउँपालिकासँगको सहकार्यमा प्रचार–प्रसार कार्यलाई अगाडि बढाएको छ । यो अत्यन्तै सकारात्मक र प्रशंसनीय कार्य रहेको छ । गाउँपालिकाको प्रवेश द्वार मुझुङमा रहेको प्रख्यात र धार्मिक पर्यटकीय महत्व बोकेको कालिका मन्दिरमा विभिन्न समयमा मेला उत्वस हुने गर्दछन् । यहाँ कटुस, बिलौनी, लाकुरी लालीगुराँस लगाएतका बहुमुल्य बोट बिरुवाहरुले अत्यन्तै मनोमहक देखिन्छ । मन्दिर परिसरमा देखिने चारै चौरास रमाईला दृष्यले यहाँ आउने जोकोहीको मनलाई आकर्षण गर्ने गरेको पाइन्छ । मन्दिर नजिकै पश्चिम पाल्पाकै ठूलो खेल मैदान समेत रहेको छ ।

यसक्षेत्रलाई गाउँपालिकाले आर्थिक वर्षको बजेटमार्फत डिपिआर तयार पारेर खेलमैदानको रुपमा विकास गर्ने र पर्यटक भित्र्याउने लक्ष्य समेत राखेको छ । कालिका मन्दिरको अवलोकन पछि छहरको अमलाबास बजारमा हेलिप्याड र हिमाल पहाड तराईका बस्ती नियाल्न सकिन्छ । अमलाबास बजार माथि हानिठाना डाँडा पर्यटकका लागि अत्यन्त आकर्षक स्थान हो । जुन ठाउँमा काठमाण्डौँ पोखरा र भैरहवाबाट सिधा हेलिकप्टर मार्फत अवरतरण गर्न सकिन्छ । जुन ठाउँमा हेलिप्याड निमार्ण गरिएको छ । छहरा बजारसंगै गाउँपालिका भवनदेखि उत्तर पश्चिमतर्फ गाउँपालिको अर्को महत्वपूर्ण स्थान ब्रहमादेवी मन्दिर तिलक थान पुगिन्छ । पर्यटकीय सम्भावना र गन्तब्य बन्न सक्ने यो स्थान छहराकै अग्लो स्थानका रुपमा लिइन्छ । जिर्ण अवस्थामा रहेको मन्दिर, रमाई डाँडाकाँडा, छहरा बजार, अमलाबास बजार, हरियाली सहित दर्जन बढी डाँडाकाँडा रमणीय हिमालका दृष्यहरुलाई यही मन्दिर आसपासबाट नियाल्न सकिन्छ ।

यस क्षेत्रलाई गाउँपालिकाले मुख्य प्राथमिकता दिएर डिपिआर तयार पारी पर्यटकीय गन्तब्य बनाउन लागेको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिएका छन् । यसले पनि प्रष्ट हुन्छ की गाउँपालिकाले पर्यटनको क्षेत्रलाई कति प्राथमिकतामा राखेको रहेछ । गाउँपालिकाले छिमेकी वडा बल्डेङगढी र रैनादेवी मन्दिरलाई पनि प्रचार –प्रसार गरी धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल थालेको छ । गाउँपालिका भित्र रहेको अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र बल्डेङगढी हो । यस क्षेत्रलाई जिल्लाकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । जुठा बल्डेङगढी र सत्यवतीको शिरमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र बल्डेङगढी आर्थिक अभावकै कारण भने पछि परेको छ । यहाँ पहिले मगर राजाको राजधानी रहेको थियो ।

१४ औं शताव्दीमा मगर राजा बलिहाङ रानामगर यस राज्यको पहिलो राजा रहेको इतिहासमा पाइन्छ । बलिहाङ राना मगरले बाह्र मगराँत ऐकिकरण गरी बलिहाङ राज्य स्थापना गरेका हुन् । जुन अहिले बल्ढेङगढीको नामले परिचित रहेको छ । नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ । मगरात राज्य मगरराजाहरुले चलाएको शासन व्यवस्था हो । मगरात राज्य उत्तरामध्यकालको स्वर्णिमकालका रुपमा परिचित रहेको छ । मगरहरुका नायकको रुपमा चर्चित रहेका कुशल योजनाकार तथा साहसिक राजा बलिहाङलाई त्यतिबेला बलिराजाको नामले समेत चिनिने गरिन्थ्यो ।

बलिहाङ राजाले आफ्नो शासन स्थापना गर्दा ४ हजार सेना रहेका थिए । जसलाई बुलिहाङ योद्वा समेत भन्ने गरिन्थ्यो । यीनै बुलिहाङ योद्वाले निर्माण गरेको कटकिल्लालाई बलिहाङगढी नामले चिनिन्थ्यो । हाल यस गढीलाई बल्ढेङढी भनिन्छ । ऐतिहासिक महत्व रहेको यो बल्ढेङगढी महाभारत श्रृङ्खलाको दक्षिणमा पर्ने र यहाँ बलिहाङ राजाले बनाएको चौकी समेत रहको थियो । उक्त चौकीमा मगर उमराउ बस्दथे र त्यही बाटो भएर तराई, पहाड गरिने गौडा भएको त्यसबेलाको लोक इतिहासमा पाइन्छ । बलिहाङगढी दरवारले त्यतिबेला गोरखपुरसम्म शासन गर्दथ्यो । यसको शासन व्यवस्था त्यसबेला स्वर्णिम र प्रजामूखी भएको व्याख्या अरु राज्यहरुले समेत गरेको इतिहासमा पाइन्छ । बलिहाङगढीका संस्थापक बलिहाङ राना मगर थिए भने यहाँका अन्तिम राजा रनविर राना मगर भएको इतिहासमा उल्लेख छ ।

पाल्पाका सेनबंशीय राज्यको स्थापना भन्दा पहिले बलिहाङगढी राज्य निकै शक्तिशाली राज्यको रुपमा रहेको थियो । बल्ढेङगढी राज्यको विषयमा श्री ५ सुरेन्द्रबाट विक्रम सम्वत १८७२ मा श्रीधरका एघारौ पुस्ताका विष्णु उपाध्याय गौतमलाई बिर्ता दिएको र विक्रम सम्वत १८९८ मा पुनःनविकरण गरेको इतिहासमा रहेको छ । इतिहास बोकेको बलिहाङगढी अहिले बल्ढेङगढीको नामले परिचित रहेको छ । यहाँ राजाका अवशेषहरुका रुपमा पुरानो गढिको, इनार, युद्वका सयममा प्रयोग हुने किल्लाहरु, गुफा र दरवारको भग्नाशेष रहेका छन् । दरवारको भग्नाशेष क्षेत्रमा कुवारीदुविको मन्दिर छ । जहाँ हजारौ भक्तजनहरु बैशाख पूर्णिमा, असार पूर्णिमा,दशैको अष्टमी, मंसिरको न्यागी मा पुजाआजा गर्न त्यहाँ पुग्दछन् । गढीको चारै तिर घना जंगल रहेको छ । तल पट्टी मगरहरुको बस्ती छ । राजाले स्थापना गरेको कालिकाको मन्दिरमा दशैको पञ्चमीमा ठूलो मेला लाग्ने गर्दछ । जहाँ युद्वको समयमा प्रयोग गरिएका हतियारहरु खुकुरी, तरवाल, र भालाहरु हातमा लिएर स्थानीयहरुले नाचगान र बाजाबजाई रमाईलो गर्ने गर्द छन् ।

यहाँ राजाका अवशेषहरुका रुपमा पुरानो गढिको, इनार, युद्वका सयममा प्रयोग हुने किल्लाहरु, गुफा र दरवारको भग्नाशेष रहेका छन् । दरवारको भग्नाशेष क्षेत्रमा कुवारीदुविको मन्दिर छ । जहाँ हजारौ भक्तजनहरु बैशाख, असार पूर्णिमा, दशैको अष्टमी, मंसिरको न्यागीमा पूजाआजा गर्न यहाँ पुग्दछन् । मन्दिरमा स्थानीय सरकारका जनप्रतिनिधी र सरोकारवालाहरुले बेला बेलामा अध्यन अवलोकन गरे पनि त्यसले सार्कता पाएको देखिदैन । पर्यटकीय क्षेत्रको रुपमा सम्भावना बोके पनि यसको संरक्षण प्रवद्र्धन भने हुन सकेको छैन । यस क्षेत्रको विकासमा स्थानीय सरकारले चासो दिएर लाग्ने हो भने अवश्य पनि पर्यटन क्षेत्रमा ठूलै फड्को मार्न सकिने देखिन्छ । त्यत्तिकै सम्भावना बोकेको वडा ३ मा अवस्थित भुवनपोखरीमा रहेको रैनादेवी मन्दिर पनि धार्मिक पर्यटनका हिसावले जिल्लामा मात्रै नभई राष्ट्रियस्तरमै चर्चा कमाउन सफल मन्दिर हो ।तानसेनदेखि करिब ३८ किलोमिटरको दुरीमा अवस्थित रैनादेवी मन्दिर महाभारत पर्वत श्रृङ्खला अन्तर्गत समुद्री सतहदेखि करिब १६ सय मिटरको उचाइमा रहेको छ ।

मन्दिर क्षेत्र प्राचिन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वका हिसाबले जिल्लामै उच्च मानिन्छ । यहाँ हरेक वर्ष न्वागी मनाउने परम्परा रहेको छ । अन्न भित्र्याउन कार्तिक १७ गतेका दिन विधि पूर्वक धामी झाँक्रीद्वारा देवीसँग सोधी प्रत्येक कार्तिक २३, २५, २७ र २९ गतेमध्ये एक दिन धान काटने मुठी लाने गरिन्छ र सोही दिनदेखि ११ औं दिनका दिन देवीलाई पशुपंक्षीको भाकल दिइन्छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ । दशैंको नवदुर्गा भर र न्वागी पर्वको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । दशैंको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिका पुजा, सोरठी नाँच, सराँय, मालश्री, बालुन र ख्याली नाँच यहाँका प्रमुख आकर्षण हुन् । जंगलभित्र रैनादेवीको शक्ति पिठ, सत्य देवी र कालिकाको मन्दिर रहेका छन् ।

मन्दिरमा आठ सय वर्ष पुरानो घण्टा रहेको छ । घण्टामा उल्लेख भए अनुसार मन्दिरको नाम पहिले ‘रोइन देवी’ रहेको र पछि सजिलोका लागि रैनादेवी रहेको बताईन्छ । मन्दिरमा पृथ्वी नारायण शाहकालीन हातहतियार र खड्ग, ताम्रपत्र र रैनादेवीको आफ्नै मालश्री रहेका छन् । मन्दिरमा अक्षता कुट्नको लागि जंगलको बीचमा ढिकी राखिएको छ भने धुपका लागि कोलको व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका दर्जनौ हिमशृङ्खलाहरूको मनमोहक दृश्यावलोकन गर्न सकिने यो स्थान अत्यन्त सुन्दर एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यो मन्दिरमा न्वागी पर्वमा विषेश मेला लाग्नुको साथै बढी मात्रमा बली चढाइन्छ । रैनादेवी छहरालाई दीगो आर्थिक विकासका लागि राज्यको पर्यटन नीति र कार्यक्रमलाई निरन्तरता दिदै गाउँपालिकाभित्र रहेका धार्मिक क्षेत्रको पहिचान र संरक्षण गरेर रैनादेवी छहरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुहरु लागेको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बताउँदै आएका छन् ।


अन्त्यमा गाउँपालिकाले पर्यटन क्षेत्रलाई दिगो, मौलिक र सार्थक बनाउन पर्यटकीय समस्याहरुलाई समाधान गर्दै संभावना तथा अवसरहरुलाई संरक्षण, संवद्र्धन र विकास गर्न आवश्यक छ । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने गरी होमस्टे जस्ता पर्यटकीय क्रियाकलापको प्रवद्र्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन । आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने गरी पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले आफ्नै आकर्षक ब्राण्डहरु निर्माण गर्न आवश्यक छ । स्थानीय तहले नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभुति प्रति पर्यटकलाई आकर्षित गर्न बजार प्रवद्र्धनका रणनीतिलाई आधुनिक पद्दतितर्फ लैजानै पर्छ । विश्वासिला सञ्चार साझेदारहरुको पहिचान र परिचालन गरी गन्तव्यहरुका बारेमा नयाँ र ताजा जानकारी दिने तथा प्राकृतिक सामिप्य, साँस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेलजस्ता उत्साहप्रद मूल्यहरुलाई पर्यटनसँग कसिलोसंग जोड्न जरुरी छ । पर्यटन बहुसरोकारवालाहरुको अन्तर्सम्बन्धबाट चल्ने क्षेत्र हो । त्यसैले पर्यटनको प्रवद्र्धन र विकासको लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ । यसर्थ स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, संरक्षण र प्रचार गर्न सकेमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने कुरामा दुई मत नहोला ।
(लेखक यस दैनिकका पाल्पा छहरा संवाददाता समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update