Shittalpati
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा

काठमाडौं, राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि नेकपा (एमाले)को विभाजनपछि कम्युनिष्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन् । केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल गएका थिएनन् । एउटै मञ्चमा रहनु त परै जाओस् एक अर्काप्रति गालीगलौज र लान्छना लगाउन उद्दत नेतालाई एउटै मञ्चमा रहने सुवर्ण अवसर काँग्रेसले जुटाइदिएको भन्न सकिन्छ ।

संघीय संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमपछि पार्टीभित्र गम्भीर मतभेदका कारण तत्कालीन नेकपा भित्र पुष्पकमल दाहाल र माधवकुमार नेपालले सडक आन्दोलनमा उत्रेका थिए । सर्वाेच्च अदालतले सदन पुनःस्थापनको निर्णय सुनाएपछि बेग्लावेग्लै पार्टीका अध्यक्ष बन्न पुगेका नेताहरू यसबीचमा एक अर्कालाई खुइल्याउन नै व्यस्त रहेका कारण एउटै मञ्चमा रहने बस्ने अवसर मिलेको थिएन । काँग्रेसका यस महाधिवेशनले ती बामपन्थी नेतालाई एउटै मञ्चमा रहने अवसर जुटाएको छ । काँग्रेस महाधिवेशन उद्घाटन समारोहमा ती तीनै जना नेता एकसाथ मञ्चमा देखिँदा धेरैले चासोका साथ हेरेका थिए । यसैगरी मञ्चमा पछिल्लो पटक विभाजन भएको जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिएका थिए । जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका थिए । संयोग भन्नुपर्छ काँग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस समेत परेको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update