Shittalpati
बेमौसमी वर्षाको वितण्ड

नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ । गृह मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीपहिरोजन्य प्रकोप र डुबानबाट हालसम्म १०० जनाभन्दा बढीको मृत्यु भैसकेको छ भने ४० जना अझै बेपत्ताको स्थितिमा रहेका छन् । बेपत्ता हुनेहरु प्रायः बझाङ जिल्लाका छन् । निधन र बेपत्ता हुनेहरु अधिकांश पहिरोको चपेटामा परेका छन् । सरकारले आफ्नो सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित भएको बताउँदै गर्दा अर्कातिर प्राकृतिक विपत्तिले नागरिकको बेहाल बनाएको छ । विशेषतः कृषि उपज त्यो पनि धानबाली उठाउने बेलामा भएको क्षतिले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा असर त गर्छ नै, नागरिकको जीवनको पनि सुरक्षित हुन सकेन ।

विपद्बाट विशेषगरी २० जिल्लाहरु बढी प्रभावित हुन पुगेका छन्, जसमा १५ जिल्लामा मानवीय क्षतिसमेत भएको छ । समयमै वर्षा हुनुलाई किसानका लागि हर्षका रुपमा लिइए पनि अहिलेको जस्तो अप्रत्याशितरुपमा आउने बेमौसमी वर्षा किसानका निम्ति ठूलो पीडाको कारणसमेत बन्यो । किसानहरुले भित्र्याउने बेलाको धानबालीमा यो वर्षाले ठूलो नोक्सान पुर्‍याएको छ । ३० प्रतिशतको हाराहारीमा धानबालीलाई हानि पुगेपछि आगामी दिनमा खाद्यान्न संकट आउने खतरालाई नकार्न सकिँदैन । त्यसरी नै किसानका तरकारी तथा फलफूलखेतीमा समेत यो वर्षाले पर्याप्त क्षति पु¥याएको देखिन्छ । भर्खर कोरोना महामारीबाट विस्तारै मुक्ति पाउँदै गर्दा फेरि अर्को प्राकृतिक वितण्डाले नेपालीको जीवन कष्टकर बनाउने निश्चित छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब एकतिहाइ योगदान रहेको कृषि क्षेत्रमा नै नकारात्मक असर परेको छ । धानबालीमा क्षति पुग्नु भनेको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्नु हो । प्राकृतिक विपत्तिलाई पूर्णरुपमा नियन्त्रण गर्न नसकिए पनि त्यसले पुर्‍याउने क्षतिलाई भने कम गर्न नसकिने भन्ने होइन । विपत्ति बाजा बजाएर नआउने हुनाले त्यसको रोकथामका लागि पूर्वतयारी पर्याप्त हुनु आवश्यक देखिन्छ । यसतर्फ सरकारले बेलैमा सोच्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update