Shittalpati
पीडितको उद्धारमा जुटौं

बेमौसमी वर्षाले गर्दा देशैभरि धनजनको ठूलो क्षति भइरहेको छ । जसले गर्दा दशैँजस्तो महान् चाडसमेत प्रकोप प्रभावितहरूका लागि चाड बन्न सकेन । नेपालमा सामान्यतया मनसुन जेठको अन्तिमतिरबाट सुरु हुन्छ र भदौको अन्तिम वा असोजको पहिलो हप्तातिरबाट समाप्त हुन्छ । अहिले मनसुन सक्रिय भएको समयमा वा बर्खामा पनि बाढीपहिरोका कारण धनजनको धेरै ठूलो क्षति हुनपुग्यो । अब हिउँद लागि सकेपछि पनि पानी पर्न छोडेको छैन । समय वा ऋतु अनुसारका प्रकोपहरू जहिल्यै भइरहन्छन् । त्यस्ता प्रकोपबाट मानिसले जसरी भए पनि जोगिनुपर्ने हुन्छ ।

बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ । क्षतिको एकिन विवरण अझै आउन बाँकी भए पनि अविरल वर्षाका कारण करिब एक सय नागरिकले ज्यान गुमाएको दुःखद संकेतहरु आइरहेका छन् । बस्तीमा बाढी पसेका कारण ठूलो संख्यामा प्रभावितहरु विस्थापित भएका छन्, किसानले भित्राउन ठिक्क पारेको धानबालीमा ठूलो नोक्सान पुगेको छ । बाढी–पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् भने दर्जनौं पुल भत्किएको र राजमार्गहरु अवरुद्ध भएको अवस्था छ । मनसुन बाहिरिएलगत्तै आएको बेमौसमी वर्षाले चार दिनमै यति धेरै क्षति गर्ला भन्ने कल्पना पनि गरिएको थिएन । भारी वर्षाले पुर्‍याएको क्षति जति अकल्पनीय छ, जलवायु परिवर्तनले निम्त्याएको यस प्रकारको बेमौसमी विपत्ति त्यत्ति नै चिन्तनीय छ । त्यसैले सरकारले बाढी, पहिरो र डुबानपीडितहरूको उद्धार तथा राहत व्यवस्थाका लागि तत्काल प्रभावकारी कदम चाल्नुका अतिरिक्त भविष्यमा यस्तो विपत्तिसित जुध्ने यथोचित पहल थाल्नु पनि उत्तिकै आवश्यक छ । प्राकृतिक प्रकोप रोक्न सकिन्न तर न्यूनीकरण गर्न सकिन्छ । यसका लागि तीनै तहको सरकारले विशेष ध्यान पुर्‍याउनुपर्छ । यस्तो विपत्को बेला स्थानीय, प्रदेश र केन्द्र तीनै तहको सरकार एक भएर उद्धार, राहत र पुनःस्थापना कार्यमा लागे आम जनताले सहानुभूति पाएको अनुभव गर्ने थिए । साथै, सबै राजनीतिक दलले पनि उद्दार, राहत र पुनःस्थापनाका लागि आफ्ना भातृ एवं शुभेच्छुक संघ–संगठन र कार्यकर्ताहरु परिचालन गरी पीडितको उद्धारमा जुट्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update