Shittalpati
शैक्षिक क्षेत्र चलायमान बनौं

कोरोना महामारीका कारण नेपालको शिक्षा क्षेत्र अन्योलमा परेको छ । केही स्थानमा संक्रमण घटेर विद्यालयहरु खुला गरिएको छ भने केही ठाउँहरुमा अझै बन्द छन् । खुल्ने टुंगो नै छैन् । कतिपय विद्यालयले अनलाइनबाट अध्ययन गराइरहेका भए पनि त्यसमा सबै विद्यार्थीको पहुँच पुग्न सकेको छैन ।

पाल्पामा अहिले विद्यालय सञ्चालनमा आएका छन् । कोरोनाको जोखिम र त्रास हटेको छैन तै पनि दोस्रो लहरका कारण बन्द भएका विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । लकडाउनले गर्दा आधारभूत तह र एसइई समेतको नतिजा आन्तरिक मूल्याङ्कनबाटै जसोतसो प्रकाशन गरियो । विद्यार्थीहरुले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्ने अवस्था भएन । मोबाइलबाट प्रकाशित गरेको वार्षिक नतिजाले यसपटक पनि विद्यार्थीमा कुनै उत्साह ल्याएन । त्यस्तो नतिजाले विद्यार्थीलाई न पर्याप्त खुसी दियो न त उत्साह र उमङ्ग नै । आफ्नै घरभित्रै कैदीजस्ता भएका बालबालिका विद्यालय आउँन पाउँदा अत्यन्तै खुसी र हर्षित देखिन्थे । तर यो उत्साह कति दिन रहन्छ वा रहँदैन भन्न्न सकिदैन । संक्रमण कायमै रहेकाले पुनः अवस्था जटिल भएमा विद्यालय बन्द हुन सक्छन् । अहिले पाल्पा सहित केही जिल्लाहरुमा संक्रमणको अवस्था सहज बन्दै गएको छ । यस्तो अवस्थामा सुस्ताएको शिक्षा क्षेत्रलाई चलायमान बनाउने दिशामा स्थानीय सरकार र शैक्षिक संघसंस्थाहरुले ध्यान दिनुपर्दछ । सहज परिस्थतिलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सुरुचारु गर्नु अहिलेको आवश्यकता हो । विगत दुई वर्षदेखि नै शैक्षिक गतिविधि सुस्ताएको छ । अब यसलाई पुर्नताजकी गराउन सबै पक्ष लाग्न जरुरी छ । देशभर एकै प्रकृतिको स्रंक्रमणको अवस्था छैन । संक्रमण नभएको ठाउँमा पनि अब वैकल्पिक विधिबाट मात्रै पठन–पाठन गर्नुपर्छ भन्ने छैन, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा पठन–पाठन गर्न सकिन्छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिनुपर्छ । संक्रमणको अवस्था फरक भएको हुनाले परिस्थितिलाई हेरेर फरक फरक निर्णय गर्नु पर्छ । संक्रमणको दर हेरेर सञ्चालन गर्न सक्ने ठाउँमा सञ्चालन गर्न सकिने र जहाँ सकिँदैन ती ठाउँहरुमा केही समय कुरेर वैकल्पिक विधिबाट नै पठनपाठनलाई निरन्तरता दिनुपर्छ । पठनपाठनको सबैभन्दा प्रभावकारी विधि भौतिक उपस्थिति नै भएकाले जोखिम कम भएका ठाउँमा विस्तारै विद्यालय खुलाउन सकिन्छ । विद्यालय सञ्चालन गर्दा भने मार्गनिर्देशन र मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । यस्तो गर्न सके मात्र शैक्षिक क्षेत्रलाई थप चलायमान बनाउन सकिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update